अर्घाखाँची। दुई वर्ष अगाडिसम्म तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने किमडाँडाका कृषकहरु अहिले रासायनिक मल र विषादीको प्रयोग गर्न छाडेका छन् । रासायनिक मलको साट्टा गोबर र गाइको गउँतको प्रयोग गर्न थालेपछि उत्पादन झनै बढ्न थालेको छ ।
रासायनिक मल र विषादीको प्रयोगले उत्पादन गरिएका तरकारी खानाले मानिसको स्वास्थ्यमा असर गर्छ भन्ने थाहा भएपनि मल र विषादीको विकल्प थाहा थिएन । असर गर्छ भन्ने थाहा भए पछि विकल्प खोज्दै गर्दा रासायनिक मलको सट्टा गोठे गोबर मल, कम्पोष्ट मल र विषादीको सट्टा गाईभैँसीको पिसाबमा पानी राखेर बिरुवामा छरेर खेती गर्न थालिएको हो । भैँसीको पिसाबलाई संकलन गरी ट्यांकीमा जम्मा गर्ने र त्यसमा पानी मिसाइ बिरुवामा राख्ने गरेको कृषक को भनाई छ । उनीहरुले खेतमा काउली, साग, बन्दा, सिमी, बोडी, टमाटर लगायतका तरकारी उत्पादन गरेका छन् । रासायनिक मल र विषादीको प्रयोग बिना लगाएको तरकारी असाध्यै राम्रो भएको मधु बन्जाडेको भनाई छ ।
दुई वर्ष पहिले डोडखोलाका कृषक सूर्य आचार्यलाई पनि गाइको पिसाब तरकारी खेतीमा राखेमा उत्पादन बृद्धि हुन्छ भन्ने कुरो थाहा थिएन । सुरुमा त उहाँले पिसाबको महत्व बारे बुझ्न पनि चाहेका थिएनन् । तर अहिले उहाँले दैनिक पिसाब संकलन गरेर संकलन गरेको तरकारीमा हाल्नुहुन्छ । ‘गाईभैँसीको पिसाब एक थोपा पनि खेर जान दिँदैनौ’ । उहाँले भन्नुभयो, ‘दिनहुँ संकलन हुने पिसाबमा एक लिटर बराबर तीन लिटर पानी मिसाएर बारीमा राख्छांै । गाई भैँसीको पिसाब प्रयोग गर्दा युरियाले भन्दा दोब्बर उत्पादन भएको छ ।’
साढे दुई वर्ष पहिले रासायनिक मल र विषादी प्रयोग गर्ने किमडाडा र धरम्पानीका किसान अहिले गोबर मल , कम्पोस्ट मल , कुखुराको मल र गाईभैँसीको पिसाब प्रयोग गरी तरकारी खेती गर्दै आएका छन् ।
धरम्पानी र किमडाडाका झण्डै ६० घर परिवार गाईभैँसीको पिसावको प्रयोग गरी उत्पादन गरिरहेका छन् । जिल्ला कृषि विकास कार्यलय र जिल्ला पशुसेवा कार्यलयले गाँउका किसानलाई गोबर मल , कम्पोस्ट मल र गाईभैँसीको पिसाब प्रयोग गर्ने तरिका सिकाएको थियो ।
अन्नदेखि तरकारी, फलफुलसम्ममा पिसाब राखेपछि राम्रो उत्पादन हुन थालेको छ । पिसाब राखेपछि एका तिर रासायनिक मल किन्ने पैसाको बचत भएको छ भने अर्को तर्फ आर्गानिक खेतीले मानिसको स्वास्थ्यलाई फाइदा पु¥याएको छ । साथ साथै अन्न तथा तरकारी उत्पादन पनि वृद्धि भएको जिल्ला कृषि विकास कार्यलयका प्रमुख योगप्रसाद खरेलले बताउनुभयो ।
‘रासायनीक मल र गोबर मल भन्दा पिसाबको धेरै महत्व हुन्छ, जिल्ला कृषि कार्यालयका प्रमुख खरेलले भन्नुभयो ‘पिसाबमा नाईट्रोजनको मात्रा बढी हुने हुनाले यसले विभिन्न रोग किरासँग मार्ने शक्ति बढी हुन्छ ।’ उहाँले गउँतको प्रयोग गर्ने हो भने किटनासक औषधि,रासायनिक मल राख्न नपर्ने बताउनुभयो । गोबरमल र पिसाब मात्रै राखेर उत्पादन गरेको खानेकुराबाट मान्छेलाई पनि रोग लाग्नबाट बचाउने उहाँको भनाई छ ।
पिसाबलाई खेर जान नदिन कृषि विकास कार्यालय अर्घाखाँचीले भकारो सुधारको कार्यक्रम गरिरहेको छ । पहिला खासै महत्व नभएको गहुँतको महत्व थाहा पाएपछि यसको संकलनमा ध्यान दिन थालेका छन् ।