धनकुटा । चिया र अलँैची अनुसन्धान कार्यक्रम यस वर्षदेखि राष्ट्रिय व्यवसायिक कृषि अनुसन्धान कार्यक्रम पाख्रिबासले शुरु गरेको छ ।
नेपालभरिका पूर्वी पहाडी क्षेत्रका अलैँची र चियाको क्षेत्रमा अनुसन्धान गर्ने उद्धेश्यले नेपाल कृषि अनुसन्धान परिषद्ले २०६४ सालमा यो कार्यक्रम शुरु गरेको थियो । स्थापना कालमा कृषि अनुसन्धान केन्द्र पाख्रिबासको मातहतमा रहँदा अनुसन्धान कार्यक्रम नचलेपछि परिषद्ले कार्यक्रमलाई चालु आर्थिक बर्षदेखि छुट्टै स्वायत्त अधिकार दिएपछि अनुसन्धाको कार्यक्रम अगाडि बढाइएको हो । चालु आर्थिक वर्षदेखि ५ वर्ष भित्रमा अलैँचीको क्षेत्रमा १६ ओटा र चियाको क्षेत्रमा ६ ओटा अनुसन्धान गर्ने लक्ष्य लिएर पाख्रिबास अनुसन्धान केन्द्रको भौतिक सहयोगमा अनुसन्धान शुरु गरिएको अनुसन्धान कार्यक्रम पाख्रिबासले जानकारी दिएको छ ।
चालु आर्थिक बर्षमा अलैँचीको ६ र चियाको ५ ओटा क्षेत्रका लागि रू. ३४ लाख ७२ हजार सहित कार्यालय सञ्चालनका लागि रू. ७० लाख ३५ हजार ९ सय गरी कुल रू. १ करोड ५ लाख ७ हजार ९ सय बजेटमा कार्यक्रम शुरु गरिएको कार्यालयका वरिष्ठ बैज्ञानिक तथा कार्यालय प्रमुख डा.गोबिन्द्र प्रसाद तिम्सिनाले जानकारी दिए । अनुसनधान कार्यक्रमका लागि आवश्यक दरबन्दी सहित १० हेक्टर जमिन २ ओटा प्रयोगशाला, आवश्यक सवारी साधन र कार्यालय भवनका लागि सरकारसँग पटक–पटक माग गरेपनि सुनुवाई नहुँदा दिनप्रतिदिन अनुसन्धान प्रभावित हँुदै गएको उनले बताए । ‘किसानले कुनै समस्या राखे अन्दाजको भरमा उत्तर दिनुपर्ने अबस्था छ’,उनले भने, ‘ त्यो पनि म कतै हिँडे भने कार्यालय नै हिड्छ ।’
स्थापना कालदेखि हालसम्म २९ दरबन्दीमा एक वरिष्ठ बैज्ञानिक र एक प्रशासकीय अधिकृत गरी ७ जना मात्र कर्मचारी हुँदा बिसं. २०७८ सम्ममा अनुसन्धानको लक्ष्य पूरा गर्ने काममा कठिनाई देखिएको तिम्सिनाको भनाई छ । कार्यक्रका लागि चाहिने भौतिक संरचना १९ प्राविधिक पदमा ४ वरिष्ठ सहित ८ बैज्ञानिक,४ प्राबिधिक अधिकृत, ५ जेटिए गरी महत्वपूर्ण १७ पद र प्रशासन सहयोगी २, संयोजक १ र लेखापालको २ ओटा दरबन्दी रहेको कार्यालयले बताएको छ ।