चितवन। चितवनको पहाडी गाविस सिद्धिका चेपाङ समुदायले दसैँलाई लक्षित गरेर डेढ करोडको खसीबोका उत्पादन गरेका छन् ।सिद्धि गाविसका ६४८ घरधुरीले दसैँका लागि मात्र डेढ करोड मूल्य बराबरको खसीबोका उत्पादन गरेका हुन् । दसैंका लागि भनेर चेपाङ समुदायले १ हजार ५०० खसीबोका उत्पादन गरी बिक्रीको लागि तयारी अवस्थामा राखेका छन् ।
हेफर इन्टरनेशनल नेपालको सहयोगमा व्यावसायिक रुपमा बाख्रापालन सुरु गरेका चेपाङ समुदायले ३६१ वटा खसी, ३६४ वटा बोका गरी ७३५ वटा खसी बिक्री गरिसकेका छन् । खसीबोकाको बिक्रीबाट ५६ लाख २० हजार रुपैयाँ सिद्धिमा भित्रिसकेको तीन दोभान सामाजिक उद्यमी महिला सहकारी संस्थाकी अध्यक्ष मीना चेपाङले बताइन् ।
दसैंसम्म १ हजार ५०० खसीबोका बिक्री गर्ने योजना रहेको उनले बताइन् । २०६९ सालदेखि साना किसान उद्यमी सवलीकरण परियोजनाले सिद्धिका चेपाङ समुदायलाई बाख्रापालनमा व्यावसायिक बनाएको छ । बाख्रापालन सुरु भएपछि आर्थिक रुपमा सिद्धिका चेपाङहरुको अवस्था सुधारिदै गएको छ । ४ वर्ष अघिदेखि व्यावसायिक रुपमै बाख्रापालन सुरु गरेकी सिद्धि–६ हुइलिङकी अनिता चेपाङले खोरमा अहिले ३५ वटा खसी, बोका र माउ बाख्रा छन । ४ वटा खसी बिक्रीबाट आएको आम्दानीले दसैं मनाउने र बाँकी रहेको पैसाबाट बोका किनेर पाल्ने योजना रहेको उनले बताइन् ।
सिद्धि ५ की गंगा चेपाङ गाउँकै उत्कृष्ट किसान हुन् । उनले उत्पादन गरेका खसीबोका राम्रा भएकाले सिद्धिको तीन दोभानमा आयोजित कार्यक्रममा उनलाई टाँडीका व्यापारीले मायाको चिनो प्रदान गरे । बाख्रापालनबाटै एक वर्षमा १ लाख ३३ हजार आम्दानी गरेको उनले बताइन् ।
‘घर खर्च चलाउन साहुसँग ऋण लिनुपर्ने समस्या टरेको छ’ उनले भनिन् अनिता चेपाङ र गंगा चेपाङले जस्तै सिद्धिका ६४८ घरधुरीले बाख्रापालबाटै सरदर वार्षिक ५० हजार आम्दानी गरेका सहकारीकी अध्यक्ष मीना चेपाङले बताइन् ।
सिद्धिका चेपाङ समुदायले उत्पादन गरेको खसीबोको सहकारीमार्फत बिक्री गर्न सुरु गरिएको छ । तीन दोभान सामाजिक उद्यमी महिला सहकारी संस्थाले किसानहरुको बाख्रा खरिद गरी ग्रहाकलाई बिक्री गर्ने काम सुरु गरिएको हो । यस कार्यको हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशकहरु डा.तीर्थराज रेग्मी र मीना जोशीले उद्घाटन गरे । हचुवाको भरमा खसीबोका बिक्री गर्दा किसानहरुले घाटा बेहोर्नु परेपछि सहकारी स्थापना गरी खसीबोकाको बिक्री सुरु गरिएको हेफरका कार्यक्रम निर्देशक रेग्मीले बताए ।सहकारीबाट खसीबोका बिक्री गर्दा किसानलाई ३० प्रतिशत फाइदा हुने उनले जानकारी दिए । सिद्धिमा व्यावसायिक बाख्रापालनको विकास गर्न हेफरले किसानहरुलाई सहयोग गर्दै आएको छ ।