अमृता गुरुङ
भरतपुरतिर विशेष कामले हिडेका पृथ्वीनगर—१०, नवलपरासीका केशर आले ई—रिक्सामा थिए । वीरेन्द्र क्याम्पस गेटमा पुग्नै लाग्दा सोही रिक्सामा एक जना महिला पनि चढिन् । “हैन दिदी हजुर कति साह्रै मोटो ! बस्नै गाह्रो भो”, सँगै बस्ने एकजना यात्रुले भने । “भए जतिको विषादी खाएपछि फोक्से मासु नलागेर के गरोस त”, लगत्तै अगाडिबाट रिक्सा चालकले उत्तर दिए ।
“उत्पादन बढाउने नाममा कडा खालका विषादी हाल्छन्, घरमा तरकारी उत्पादन गर्न छोडियो, लगाएपनि विषादी नहाली फल खान पाइदैन, बजारमा आ’को तरकारी खानयोग्य हो कि होइन कुनै ग्यारेन्टी छैन, यस्तो तरकारी खाएर यसरी नमोटाए के गर्नु ?” उनले पनि यसरी सहज प्रतिक्रिया दिइन् । आफ्नो गन्तव्यमा नपुगुञ्जेल केशर आले पनि यही छलफलमा सहभागी हुँदै गए । केही दिनअघिको यात्राको घटना सुनाउँदै केशर भन्छन्, “हिजोआज मानिसले तरकारी होइन विषादी खाइरहेका छन्, जसले मानिसको शरीर भित्रभित्रै खोक्रो बनाइरहेको छ ।”
केशर सामान्य किसान हुन्, विषादीको अत्यधिक प्रयोग बढेको देखेर निकै चिन्तित छन् । कुन विषादीले कस्तो रोग लाग्छ, कस्ता विषादी प्रगोगका लागि ठीक हो भन्ने वैज्ञानिक ज्ञान नभए पनि विषादीको प्रयोगले मानव स्वास्थ्यमा मात्र नभई माटोको उत्पादन क्षमता र गुणस्तरमा कमी ल्याउने कुरामा भने जानकार छन् । त्यसैले त उनी आफ्नै घरमा उत्पादन गरेको त्यो पनि कुनै विषादीको प्रयोग नगरी उत्पादन गरेको तरकारी खान्छन् । आफू मात्र होइन, यो सल्लाह भेटेजति सबैलाई दिन्छन् उनी ।
उनको घरमा करिब १० वर्षभन्दा बढी भयो विषादीरहित तरकारी पाक्न थालेको । व्यवसायिक अर्गानिक तरकारी उत्पादन गर्ने सोच बनाइरहेका केशर अहिले आफ्नो घरका सम्पूर्ण सदस्य निकै स्वस्थ र निरोगी रहेको दावी गर्छन् । अर्गानिक तरकारी खानाले आफू र आफ्नो परिवार निरोगी रहेको दावी गर्छन् शरदपुरका अर्जुन पोखरेल पनि । पेशाले उनी सवारी चालक हुन्, उनको आफ्नै गाडी छ । त्यसैमा उनी आफ्ना यात्रुलाई गन्तव्यसम्म पु¥याउने गर्छन् । यस्तैमा एक दिन एक गैरसरकारी संस्थाको व्यक्तिसँग भेट भयो र उसले अर्गानिक तरकारीबारे बुझाएको दिनदेखि उनी घरमा अर्गानिक तरकारी मात्र किन्छन् । करिब पाँच वर्षदेखि आफूले घरमा अर्गानिक तरकारी मात्र खाएको बताउँछन् । “बरु टिम्मुरको झोल खान्छु तर विषादी हालेको तरकारी खादिनँ”, उनले ठोकुवा गरे । त्यसैले समय निकालेरै पनि उनी करेसाबारीमा दिनको केही समय बिताउँछन् । “विषादीको बारेमा नजान्दा दिनै विष पो खाइरहेका रहेछौं, अहिले अर्गानिक तरकारी खाएदेखि आफू र आफ्नो परिवारको सदस्य अस्पतालबाट टाढा छांै”, उनले भने ।
यसरी अर्गानिक खाद्यान्न तथा तरकारीको महत्व बुझेर पृथ्वीनगर—१०, प्रगतीनगर, नवलपरासीका किसानहरु अर्गानिक उत्पादनमा जोड दिदै आएका छन् । करिब १० वर्षदेखि अर्गानिक धान, मकै, गहुँलगायत खाद्यबाली र तरकारी अर्गानिक उत्पादन गर्दै आएका छन् । गाउँ नजिकैको बजारबाट महँगो मूल्यमा अत्यधिक विषादी हालेको तरकारी खरिद गर्नुभन्दा आफ्नै बारीमा उत्पादन गरेको अर्गानिक खाद्यान्न तथा तरकारी उपभोग गर्नका लागि अभियानै सञ्चालन गरेका छन् । जग्गा प्रशस्त भएपनि वर्षभरि खान नपुग्ने त्यहाँका किसानले कडा मेहनत र परिश्रमका कारण आफूले खाएर बाँकी रहेको बिक्रीसमेत गर्ने गरेका छन् । “जमिनमुनि ठूल्ठूला डुँगा, बलौटे माटो, सिंचाइको आभाव”, विगतलाई सम्झदै पहल सिंह राना भन्छन्, “सबैसँग प्रशस्त जग्गा भएपनि आफ्नो उत्पादनले कसैलाई पनि वर्षभरि खान पुग्दैन थियो ।” उनी फेरि थप्छन्, “दिनरात गरी जति पसिना बगाएपनि उनीहरुको मेहनत बालुवामा पानि खन्याएसरि भइरहेको थियो ।
उत्पादकत्व कमै भएपनि उनीहरु कृषिको नयाँ आधुनिक प्रविधि, उन्नत जातको बिउ तथा मलको बारेमा अनविज्ञ थिए । उही परम्परागत शैलीबाटै खेतीपाती गर्ने प्रचलनबाहेक न त उनीहरुसँग अरु कुनै वैकल्पिक बाटा नै थिए । यसरी आफ्नो गाउँको पुरानो कथा सुनाउँदै गर्दा उनको मुहारमा केही अँध्यारो छाएपनि अहिलेको अवस्थाले भने केही हदसम्म भएपनि आशाको दियो बलेको महसुस गर्न सकिन्थ्यो । अहिले उनका गाउँका प्रायः सबैलार्ई आफ्नै उत्पादनले खान पुग्छ । त्यति मात्र नभई कतिले त बाँकी रहेको खाद्यान्न बिक्री पनि गर्ने गरेको उनी बताउँछन् । स्वेर आई.एम. हालको आई.एम स्वीडिस डेभलपमेन्ट पार्टनर नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले सिंचाईको लागि कुलो बनाउन आर्थिक सहयोग गरेपछि उनीहरुको खेतबारीमा बाह्रै महिना पानी बग्न थालेको छ । त्यति मात्र नभई उनीहरु व्यवसायिक अर्गानिक तरकारी उत्पादन पनि सुरु गरेका छन् ।
पहल सिंह मात्र होइन अहिले सम्पूर्ण गाउँ नै अभियानकै रुपमा अर्गानिक खाद्यान्न तथा तरकारी उत्पादमा लागिपरेका छन् । वि.सं. २०२८ सालमै ‘जलुके घुमाउरे सिंचाइ नहर तथा जल उपभोक्ता समिति’ गठन गरेर सबै किसान संगठित भएपनि वि.सं. २०६६ सालदेखि मात्र अर्गानिक खाद्यान्न तथा व्यवसायिक तरकारी उत्पादन सुरु गरेका हुन् । सामुहिक अर्गानिक तरकारी खेतीबाट सुरुआत गरेका उनीहरुले हाल व्यक्तिगतरुपमै अर्गानिक व्यवसायिक तरकारी उत्पादन गरिरहेका छन् ।
‘थोरै खाने तर स्वस्थ खाने र खुवाउने’ अभियानै सञ्चालान गरेका छौं । उनी भन्छन्, “विषादीले कीरा फट्याङ्ग्रा मात्र मार्दैन, यसले अप्रत्यक्षरुपमा हामीलाई पनि मारिरहेको हुन्छ ।” त्यसैले समूहमै कीरा फट्याङग्रालाई पनि खुवाउने हामी पनि खाने निर्णय ग¥यौं । करिब वि.सं. २०५५ सालभन्दा अघि निकै कडा खालको रासायनिक मल (विषादी) प्रयोग गरिन्थ्यो जब विषादीको नकारात्मक असर स्वास्थ्यमा पर्ने र त्यसले प्रत्यक्ष तथा अप्रत्यक्षरुपमा मानव विकासमै प्रभाव पर्ने ज्ञान भइसकेपछि त्यहाँका किसानहरु अर्गानिक खेतीतर्फ अग्रसर भएका हुन् । “उत्पादन बढाउनका लागि हामीले त्यस्तो कडा खालको विषादी प्रयोग गथ्र्यौं, जुन अहिले नेपाल सरकारले पनि त्यसको प्रयोगमा प्रतिबन्ध लगाएको छ,”, संस्थाको अध्यक्ष समेत रहेका पहल सिंह रानाले भने । एग्रोभेटहरुले सामान्य खालको विषादाी प्रयोग गर्न सुझाए पनि कुनै पनि प्रकारको विषादीको प्रयोग गर्दैनांै”, उनले थपे ।
विषादीको प्रयोगले माटोको उत्पादन क्षमतामा ह्रास, माटोको गुणस्तरमा कमी, दीर्घकालीनरुपमा मानव स्वास्थ्यमा असर त्यति मात्र नभई विषादी छर्कने क्रममा पनि विषादी छर्कने व्यक्तिलाई नै प्रत्यक्ष असर गर्ने यस्तो थाहा पाएपछि विषादीको प्रयोग नै गर्न छाडेको अनुभव सुनाउँछन् अर्का किसान थानुप्रसाद शर्मा । उनको पनि यस्तै कथा छ, जति मेहनत गरेपनि वर्षभरि खान पुग्दैनथ्यो । तर, अहिले उनको भकारीभरि अर्गानिक धान छ । “वर्षभरि खाएर, केही बिक्री गरेर पनि करिब २० मुरी धान छ, उचित मूल्य पाए बिक्री गर्ने सोचमा छु”, उनले भने, “अर्गानिक उत्पादनको बारेमा सबैलाई पर्याप्त ज्ञान नहुँदा अर्गानिक उत्पादनले उचित मूल्य पाउन सकेको छैन ।” कडा परिश्रम गरेर विषादीरहित अर्गानिक तरकारी तथा खाद्यान्न उत्पादन गरे पनि अरु उत्पादन सरह मूल्य पर्दा दुःख लाग्ने उनको भनाइ छ । जे होस् उनले अर्गानिक तरकारी उत्पादन गरेरै आफ्नो ६ जनाको परिवार धान्दै आएका छन् ।
“पैसाको अभाव हुन्थ्यो, तरकारी किन्न बजार धाउन पथ्र्यो, अहिले ऋण गर्न पर्दैन, घरकै उत्पादनले पुगेको छ”, उनले भने । “जमिन बचाउनुपर्ने रहेछ, तब मात्र हामी बाँच्न सक्ने रहेछौं, त्यसैले हामी गाउँले सबैले विषादीरहित अर्गानिक उत्पादनमा लाग्यौं ।” पृथ्वीनगर वडा नम्बर १० का सम्पूर्ण किसानको भान्छामा महँगो र विषादी राखेको तरकारी तथा खाद्यान्न पाक्न छोडिसकेको छ । व्यवसायिक अर्गानिक तरकारी तथा खाद्यान्न उत्पादनमा जोड दिदै आएपनि विभिन्न प्रविधिक कारण गर्दा निर्वाहमुखी मात्र भइरहेको छ ।
सबैले अर्गानिक खाद्यान्न तथा तरकारी उत्पादन गरेपनि व्यवसायिकरुपमा लैजान सोचे जति सहज नभएको बताउँछन् अर्का किसान घनश्याम भुषाल । आफूले व्यवसायिक अर्गानिक तरकारी खेती गरेपनि मानिसहरुमा अर्गानिक तरकारीको महत्वबारे पर्याप्त जानकारी नहुँदा उत्पादित तरकारीले उचित मूल्य पाउन नसकेको गुनासो गर्छन् । “अर्गानिक तरकारी उत्पादन गर्दा बढी जोखिम मोल्नुपर्ने हुन्छ”, बिरुवा नर्सरी राख्दादेखि फल लाग्दासम्म विशेष ध्यान दिनुपर्ने हुन्छ, जुन निकै जोखिमपूर्ण हुन्छ, त्यसैले पनि जो कोही हत्तपत्त यो व्यवसाय गर्ने आँट गर्न सक्दैनन्”, भुषालले आफ्नो अनुभव सुनाए ।
रासायनिक मल प्रयोग नगर्ने भएपछि रोग कीराहरुको आक्रमण पनि बढी हुन्छ, जसको कारण उत्पादनमा कमी हुन जान्छ, त्यति मात्र कहाँ हो र ? देख्दा राम्रो पनि हुँदैन त्यसकारणले बजारमा बिक्री गर्न पनि समस्या हुने बताउँछन् अर्का किसान लक्ष्मी न्यौपाने । अर्गानिक तरकारीका बारेमा बुझेका मानिसले भने सहजै यस्ता तरकारी खरिद गर्ने गरेको बताउने न्यौपाने कतिपय त घरमै किन्न आउने गरेको, कहिलेकाहि त पु¥यााउन पनि मुस्किल हुने गरेको अनुभव सुनाउँछन् ।
आफ्नो गाउँमा अर्गानिक तरकारी तथा खाद्यान्न उपभोग गर्न थालेपछि महिलाहरुको प्रजनन् स्वास्थ्यमा पनि सुधार हँुदै आएको बताउँछन् सोही गाउँकी यमकला न्यौपाने । जन्डिस, टाइफाइट, झाडापखाला, रुगाखोकी जस्ता समस्या मात्र होइन महिलाहरुको प्रजनन् स्वास्थ्यजस्तै पाठेघर, महिनावारीजस्ता रोगमा कमी आएको उनी बताउँछन् ।
रासायनिक मलभन्दा प्रांगारिक मलले माटो मलिलो बनाउनुका साथै उत्पादनमा पनि वृद्धि गर्ने भएपनि यस बारेमा पर्याप्त जानकारी नहुँदा र छिटो र धेरै उत्पादन गरेर बढी नाफा कमाउने उद्देश्यले गर्दा रासायनिक मलको प्रयोग अत्यधिक बढ्न गएको विज्ञ बताउँछन् । प्रांगारिक मलले माटोलाई मलिलो बनाउनुका साथै बिरुवालाई चाहिने खाद्य तत्व पर्याप्त मात्रामा पाउने भएका कारण उत्पादनमा पनि वृद्धि हुने बताउँछन्, कृषि सेवा केन्द्र रजहरका कृषि प्रविधिक नरेन्द्र भण्डारी । त्यस्ता मल घरैमा बनाउन सकिने भएकाले सबै किसानलाई यस्तै मलको प्रयोग गर्न सुझाव दिन्छन् । पृथ्वीनगरका किसानहरुले राम्रो अभियानको थालनी गरेकोमा खुसी व्यक्त गर्दै समय–समयमा आफूले प्राविधिक समस्याहरु पनि हल गर्दै आएको उनको भनाइ छ । अर्गानिक खाद्यान्न तथा तरकारी उत्पादनमा हौसला बढाउनका लागि विभिन्न सरकारी कार्यक्रम तथा अनुदानहरु पनि हुने गरेको भन्दै त्यसको प्राप्तिका लागि नजिकको कृषि सेवा केन्द्र तथा कृषि विकास कार्यालयमा सम्पर्क राख्न उनको आग्रह छ ।
मानव स्वास्थ्य तथा माटोको गुणस्तर र उत्पादन क्षमतालाई बचाइ राख्न अर्गानिक उत्पादनसम्बन्धी जनचेतना जगाउन जरुरी छ । यसका साथै अर्गानिक उत्पादन गर्ने किसानको संख्यामा वृद्धि, मल तथा बिउहरुमा अनुदान, अर्गानिक उत्पादनको उचित मूल्य, सिंचाईको सुविधा जस्ता पक्षहरुमा सरकारको सहयोग भएमा पक्कै पनि अर्गानिक उत्पादन र उपभोगमा वृद्धि हुने थियो ।