काठमाडौं । दसैंका लागि मुस्ताङबाट सात सय पचास च्याङ्ग्रा खाद्य संस्थानको वाग्मति अञ्चल कार्यालयमा ल्याई पुर्यााइएको छ । शनिबार बिहान आइपुगेको च्यांग्राको संस्थानले मुल्य तय गरी आइतबारदेखि बिक्री सुरु गर्ने भएको छ ।संस्थानले मुस्ताङमा एक हजार पाँच सय वटा च्याङ्ग्रा खरीद गरेको थियो । जसमध्य शनिबार काठमाडौं साढे सात सय च्यांग्रा ल्याएको हो । संस्थानले मुस्ताङका कृषकसँग प्रतिकिलो चार सय ८५ रुपैयाँमा खरिद गरेको हो ।
च्यांग्रा ल्याउने जिम्मा पाएका गोरखाको माछाखोला डिपोका प्रमुख बालानन्द बस्यालका अनुसार बाटोको असुविधाका कारण च्याङ्ग्रालाई चार दिनदेखि मुस्ताङको जोमसोमदेखि गलेश्वरसम्म ल्याउनु परेको थियो । त्यहाँबाट सातवटा ट्रकमा च्याङ्ग्रा धान गोदाममा ल्याइएको छ।
लामो दुरीको यात्रामा पाँचवटा च्यांग्राहरु मरेको उनले जानकारी दिए । उनले भने, ‘हामीले पशु चिकित्सकबाट परिक्षण गराएर च्यांग्रा ल्याएका थियौं । तर केहि बाटोमा जोखिमपूर्ण तरिकाले ल्याउँदा मरेका पनि छन् ।’च्यांग्राका लागि गोदावरी वन समितिसँग समन्वय गरेर घासको व्यवस्था गरेको छ ।
खसीबोका भोली मात्र आइपुग्ने
संस्थानले एक हजार पाँच सय वटा खसीबोका दाङ, मकवानपुर तथा सिरहा लगायतका जिल्लाबाट ल्याउँदै छ । लहानबाट ६ सय ७५ वटा, हेटौडाबाट ६ सय २५ वटा र तुलसीपुरबाट दुई सय वटा खसीबोका खरीद गरेको संस्थानका सूचनाअधिकारी पवन कुमार कार्कीले जानकारी दिए । असोज १२ गते खसीबोका खरिद गरेको उनले बताए।कार्कीका अनुसार संस्थानले खरीद गर्ने च्याङ्ग्रा तथा खसीबोका बजार मुल्य भन्दा केहि सस्तो पर्छ । संस्थानले स्थानिय किसानबाट खसीबोका खरीद गर्ने भएकाले सस्तो पर्ने उनले बताए ।
‘हाम्रो उद्येश्य स्थानिय किसानका उत्पादनलाई प्रोत्साहन गर्ने र उपभोक्तालाई सर्वसुलभ मुल्यमा बिक्री गर्ने हो’, उनले भने, ‘स्थानिय उत्पादन आयातित वस्तुको तुलनामा स्वभाविकरुपमा सस्तो पर्न जान्छ ।’
संस्थानले खसी, बोका तथा च्याङ्ग्राको स्वास्थ्य परीक्षणका लागि सम्बन्धित जिल्लामा पशु चिकित्सकको पनि व्यवस्था गरेको छ । संस्थानले चालु आर्थिक वर्षमा च्याङ्ग्रा तथा खसीबोका खरीदका लागि मात्र चार करोड ६७ लाख रुपैयाँ रकम विनियोजन गरेको थियो ।
गत बर्षको दशैंमा संस्थानले पाँच सय वटा खसी र सात सय वटा च्याङ्ग्रा मात्र बिक्री गरेको थियो । नाकाबन्दीका कारण इन्धन अभाव बढेपछि पर्याप्त मात्रामा खसीबोका किन्न सकेको थिएन ।