नेपालगन्ज। नेपालगञ्ज बजारमा जुम्ला र डोल्पाको स्याउ आउन थालेपछि भारतीय स्याउ विस्थापित भएको छ। नेपालगन्ज र कोहलपुरका अधिकांश ठाउँमा जुम्ला र डोल्पाको स्याउ पाइने गरेको छ। जुम्ला र डोल्पाको स्याउ भारतीय स्याउभन्दा सस्तो र मिठो भएका कारण भारतको सिमला र हिमाञ्चलबाट स्याउ आउन पूर्णरुपमा बन्न भएको व्यापारीहरूले बताएका छन्।

नेपालगञ्जमा फलफूलको व्यवसाय गर्दै आएका बड्कौ राईले आफूले सिजनमा जुम्ला र डोल्पाको स्याउ मात्र बिक्री गर्दै आएको बताए। उनले भने, ‘भारतको स्याउभन्दा नेपालको स्याउको स्वाद फरक भएकाले सर्वसाधरणले नेपाली स्याउ मन पराउने गरेका छन्।’ उनले जुम्लाको स्याउ प्रति केजी ८० देखि ९० रुपैयाँमा खरिद गरेर १२० देखि १४० रुपैयाँमा तथा डोल्पाको स्याउ फलफूल मण्डीबाट १२० रुपैयाँ प्रतिकेजीमा खरिद गरेर १४० देखि १६० रुपैयाँ प्रति केजीसम्ममा बिक्री गर्दै आएको बताए।

नेपालगन्जका फलफुल ब्यापारीले यसअघि भारत सिमला र हिमाञ्चलको स्याउ प्रतिकेजी २ सय रुपैयाँमा बिक्री गर्ने गरेका थिए तर, अहिले भारतको स्याउ पूर्ण रुपमा बन्द भएको ब्यापारी बताउँछन्।

‘भारतको स्याउभन्दा नेपालको स्याउ सस्तो भएकोले पनि धेरै बिक्री हुन्छ,’ अर्का ब्यापारी समशुल हकले भने। हेर्दा जुम्ला र डोल्पाको स्याउ राम्रो देखिने ब्यापारी समशुलले बताए। ‘हेर्दा राम्रो, खाँदा स्वादिलो र किन्दा सस्तो पर्ने भएर होला ग्राहकको आँखा नेपाली स्याउमा जाने गरेको छ,’ उनले भने।

नेपालगन्ज र कोहलपुरमा चाइनीज स्याउ पनि आउने गरेको छ। नेपाली र भारतीय स्याउभन्दा चाइनीज स्याउ महंगो पर्ने धम्बोझीमा फलफुलको ब्यापार गर्दै आएका साहिद अन्सारीले बताए। चाइनीज स्याउ प्रति केजी १६० देखि १८० सम्म थोक र २ सयसम्म रुपैयाँ खुद्रा मूल्यमा बिक्री हुने गरेको उनले बताए। ‘ग्राहकले भारतीय र चाइनीज स्याउ महंगो भयो भन्न थालेपछि जुम्ला र डोल्पाको स्याउ बिक्री गर्न थालेको छु,’ उनले भने।

जुम्लाको स्याउ स्थलमार्ग र हवाई मार्गबाट आउने गरेको छ भने डोल्पाको स्याउ हवाई मार्गबाट मात्र नेपालगन्ज आउने गरेका कारण केहि महंगो भएको फलफुल ब्यापारी अन्सारीले बताए। उनले स्थलमार्गबाट स्याउ ल्याउन सकिए अझै सस्तो हुने बताए।