चितवन। चितवनको केराखेतीमा विभिन्न रोगका प्रकोप देखा परेपछि किसान चिन्तित भएका छन् । किसानका अनुसार केराखेतीमा ढुसी लाग्ने, पानामा र सिगाटोगा रोग देखा पर्न थालेका हुन् ।
केराखेतीमाअघिल्ला वर्षको तुलनामा पानामा डिजिज बढ्दै गएको छ । चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले भने, “यसबाट बच्न रोग निरोधक बिरुवाको विकल्प छैन ।” तत्काल रोग निरोधक बिरुवा नल्याइए विकराल रुप लिन सक्ने उनले बताए । अघिल्लो वर्ष चितवनमा लगाइएको खेतीमध्ये ७ प्रतिशतमा पानामा डिजिज लागेको थियो भने अहिले त्यो प्रतिशत बढ्ने अनुमान छ ।
रोग निरोधक बिरुवा ल्याउन चितवन केरा उत्पादक संघले पहल गरिरहेको छ ।
रत्ननगर–११ का किसान शिवबहादुर भट्ट आफूले लगाएको खेतीमा ढुसी लागेर केराको बोट मर्न थालेको बताउँछन् । उनले लगाएको डेढ बिघामध्ये करिब ७ कठ्ठा जग्गाको मालभोग केरामा ढुसी लागेर बोट मरेका छन् । ती सबै बोट मास्ने तयारी छ । ७ कठ्ठामा लगाइएको नयाँ बोटमा ढुसी लागेको भट्टले बताए ।
नयाँ बगान सखाप जस्तै भयो भट्टले दुखेसो पोख्दै भने, “पुरानोमा पनि रोग देखिन थालेकाले चिन्ता बढेको छ ।” भट्टले करिब १५ वर्ष अघिदेखि केराखेती गर्दै आएका छन् । कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख शिवराज पौडेलका अनुसार भट्टले लगाएको केराको गानोबीचको भाग कुहिने, थाम काटेर हेर्दा चक्र–चक्र पारेर कुहिने समस्या देखिएको छ ।
बैशाखमा लगाइएको कलिलो बोटमा ढुसीको समस्या बढी छ । अन्य केरालाई बचाउन तत्काल ढुसी लागेको बोट हटाउने र अहिलेका लागि घुम्ती बाली लगाउन कृषि सेवा केन्द्र रत्ननगरका प्रमुख पौडेलको सुझाव छ । चुना र निलोतुथो पानीमा घोलेर प्रयोग गर्नुपर्ने उनले बताए । केरामा लाग्ने रोग र वर्सेनि आउने हावाहुरीका कारण चितवनका किसानले करोडौंको नोक्सानी व्यहोर्दै आइरहेका छन् ।