धनकुटा। धनकुटाका चिया उद्योग संकटमा पर्न थालेका छन् । गुजरा चलाउन मुस्किल परेको भन्दै पछिल्ला वर्षमा धेरै किसान चिया छाडेर तरकारी खेतीतर्फ आकर्षित भएपछि धनकुटाको हिलेमा सञ्चालित उद्योगलाई मागको चौथाइ हिस्सा धान्नसमेत मुस्किल पर्न थालेको हो ।निजी बगानबाट हरियो पत्तीको आपूर्ति कम भएपछि चिया उद्योग संकटमा पर्न थालेका हुन्।
विगतका वर्षमा धनकुटा र तेह्रथुमका निजी बगानबाट एउटै उद्योगका लागि दैनिक तीन हजार दुई सय किलोसम्म हरियो पत्ती आउने गरे पनि यो वर्ष दैनिक एक हजार पाँच सय किलोमा सीमित भएको छ । त्यस्तै चिया उद्योगको काम छोडेर मजदुरहरु बिदेसिएपछि उद्योगलाई झन् समस्या परेको छ । उद्योगको आफ्नै बगान भए पनि कामदार अभावले हरियो पत्ती उत्पादनमा सुधार हुन सकेको छैन ।
दैनिक १ हजार ८ सय कामदारलाई रोजगारी दिनसक्ने यहाँका उद्योगमा अहिले जम्मा साढे चार सय मात्रै कार्यरत छन् । कामदार नपाएपछि यहाँका उद्योगलाई मागको चौथाइ हिस्सा धान्नसमेत हम्मेहम्मे परेको छ ।चिया उत्पादनका हिसाबले धनकुटा जिल्ला नेपालकै दोस्रो स्थानमा पर्छ भने तेस्रो मुलुकमा समेत उच्च माग रहेको गुणस्तरीय अर्थोडक्स चिया उत्पादनका दृष्टिले नेपालकै पहिलो जिल्ला पनि हो ।वार्षिक करिब ३ लाख ५० हजार किलो तयारी अर्थोडक्स चिया उत्पादन क्षमताका गुराँसे, नारायणी र कुवापानी चिया कम्पनीले मुस्किलले ४५ प्रतिशतमात्रै उत्पादन गर्न सकेको गुरासे टी स्टेटका प्रबन्धक नविन कार्कीले जानकारी दिए ।
निजी जग्गामा लगाएको चिया खेती मासेर किसानले अन्य नगदेबाली लगाउन थालेका छन् । धनकुटामा उत्पादित अर्थोडक्स चिया जापान, जर्मनी, अस्टे«लिया, अमेरिका र फ्रान्सलगायतका मुलुकमा निर्यात हुँदै आएको छ । ३५ वर्ष अघिबाट चिया खेती सुरु भएको धनकुटामा हाल १० हजार रोपनी क्षेत्रफलमा विस्तार भएको छ । चिया खेतीमा राम्रो सम्भावना भए पनि सरकारी स्तरबाट यसका लागि सहुलियत रूपमा ऋण र भरपर्दो प्राविधिक सहयोग उपलब्ध नहुँदा चिया कृषक निराश भएका छन् ।