सिन्धुली। जिल्लाका अधिकांश कृषकको खेतमा लगाइएको धान बालीमा ब्लास्ट नामक रोगको संक्रमण देखा परेको छ ।
धानको पातमा टीका पर्ने, खैरो, सेतो हुँदै जाने, अन्डा आकारको खैरो फैलँदै जानेजस्ता लक्षण देखापरेको जिल्ला कृषि विकास कार्यालयले जनायो । यस्तो लक्षण देखिएको रोगलाई ब्लास्ट रोग भनिन्छ । रोगको संक्रमण भएको धानको बिरुवा केही समयपछि पात सुकेर मर्ने गरेको छ ।

कमलामाई नगरपालिकाका कृषक टंकबहादुर थापाको खेतमा लगाइएको धानबाली पहेँलो पात हुँदै सुक्दै गएपछि त्यसको परीक्षण गर्दा ब्लास्ट रोगको संक्रमण भएको पाइएको कार्यालयका प्राविधिक नथुनीप्रसाद यादवले जानकारी दिए ।कमलामाई नगरपालिका, कमलाखोच क्षेत्र र भीमस्थान तथा मरिण क्षेत्रमा यस्तो रोगको संक्रमण देखा परेको हो ।

‘थापाको खेतभरिको धानबाली पहेंलो हुने, सेतो हुने, सुक्नेजस्ता समस्या देखिएपछि नमुना परीक्षण गर्न कार्यालयमा ल्याएका थिए’, यादवले भने, ‘त्यसको परीक्षण गर्दा यस्तो रोगको संक्रमण भएको पाइएको हो । यस्तो समस्या जिल्लाभर नै देखिएको छ ।’ धेरै वर्षा भए वा धेरै चर्को घाम लाग्दा पनि यस्तो रोगको संक्रमण हुन सक्ने यादवको भनाइ छ ।

यस्तो रोगको संक्रमण भएमा धानको बोट नबढ्ने, सुक्ने हुँदै जान्छ । कृषक थापाको झन्डै दुई बिघा खेतमा लगाइएको धानबाली सुक्दै गएको छ ।ब्लास्ट रोगको संक्रमण भएको पुष्टि भएमा हिनोसान नामक विषादी प्रयोग गर्नन् कृषि प्राविधिकले सुझाएका छ ।

‘सुरुमा पौस्टिक मलको अभावले हो कि भनेर कृषि कार्यालयकै प्राविधिकको सल्लाहअनुसार युरिया, डीएपी, पोटास र कम्पोस्ट मल खेतमा हालेको थिएँ । धान गाँजिँदै गएको थियो तर बढेको थिएन । पछि त्यो बिरुवा सुक्दै जान थाल्यो । कृषि कार्यालयमा ल्याएर परीक्षण गर्दा रोग रहेछ,’ कृषक थापाले भने ।थापाको खेतमा लोकल सावित्री जातको धान छ ।

जिल्लामा यस्तो रोगको संक्रमण पहिलोपटक देखापरेको कृषि प्राविधिक बताउँछन् ।ब्लास्ट रोगको संक्रमण देखापरेपछि धान बाली लगाउने कृषक चिन्तित छन् । अनुकूल वर्षा हुँदा समयमा धान बाली लगाइसकेका कृषक नियमित वर्षाबाट धानको राम्रो उत्पादन हुन्छ भन्नेमा विश्वस्त थिए ।

कृषकले रोग नियन्त्रणका लागि पहल गरिदिन आग्रह गरेका छन् । ब्लास्ट रोगको संक्रमण भएको पुष्टि भएमा हिनोसान नामक विषादी प्रयोग गर्न कृषि प्राविधिकले सुझाएका छन् । जिल्लामा १४ हजार हेक्टर जमिनमा धान खेती लगाइएको छ ।