काठमाडौँ। नेपाली अदुवामा विषादी नभेटिएको भन्दै भारतले शुक्रबारदेखि निर्यात गर्न बाटो खुला गरेको छ । काँकडभिट्टाको पानीटंकीस्थित भारतीय कस्टमका अधिकारीले नेपाली अदुवामा विषादी नभेटिएको भन्दै शुक्रबारदेखि अदुवा निर्यात गर्न दिएका हुन् ।
यसअघि भारतको क्वारेन्टाइनले नेपालमा उत्पादन भएको अदुवामा विषादी (पेस्टिसाइट) भेटिएको बहानामा गत १६ गतेदेखि निर्यातमा रोक लगाएको थियो । निर्यातमा रोक लगाउँदा पछिल्लो एक सातामा निर्यातका लागि ठीक पारिएको करिब २२ करोड मूल्यबराबरको सात हजार दुई सय मेट्रिक टन अदुवा विभिन्न स्थानमा अलपत्र परेको थियो ।
कृषि विकास मन्त्रालयका अनुसार सन् २००१ मा नेपालमा प्रतिबन्ध लगाइएको अल्दिकार्र्ब (एएलडीआईसीएआरबी) भन्ने विषादीको अवशेष नेपाली अदुवामा पाइएको भन्दै भारतले गत सातादेखि निर्यातमा रोक लगाएको थियो ।
नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका अध्यक्ष नरेन्द्र खड्काका अनुसार नेपाली व्यवसायी आफैंले इलाममा उत्पादित अदुवाको नमुना लिएर ६ दिनअघि भारतको बैगलोरस्थित सरकारी फुड ल्याबोरेटरीमा परीक्षण गराएका थिए । परीक्षणपछि नेपाली अदुवामा विषादी नभेटिएको प्रतिवेदन उक्त प्रयोगशालाले दिएको छ ।
यस्तै भारतीय पक्ष आफैंले नेपाली अदुवाको अर्को नमुना कलकत्तास्थित अन्तर्राष्ट्रिय फुड क्वारेन्टाइन प्रयोगशालामा परीक्षण गराएको थियो । उक्त प्रयोगशालाले पनि अदुवामा विषादी नभेटिएको प्रतिवेदन दिएको आधारमा भारतीय पक्षले नेपाली अदुवा निर्यातका लागि बाटो खुला गरेको संघले जनाएको छ ।
शुक्रबार नै पानीटंकी नाकामार्फत तीन सय ६० मेट्रिक टन अदुवा बोकेका २४ ट्रक भारत प्रवेश गरेका छन् । ‘भारतले नेपाली अदुवामा विषादी नभेटेपछि शुक्रबारदेखि अदुवा निर्यात गर्ने बाटो खुला ग¥यो’, संघका अध्यक्ष खड्काले भने ।
अदुवामा समस्या आएपछि कृषि विकास मन्त्रालयले गत मंगलबार नै नेपाल भारत संयुक्त कृषि कार्यदल समूहको बैठकमा अदुवा समस्यालाई उठान गर्ने निर्णय गरेको थियो । सोही अनुसार गत बुधबार उक्त समूहको बैठकका लागि मन्त्रालयका सहसचिव डा. सुरज पोखरेलको नेतृत्वमा नेपाली टोली दिल्ली पुगेको थियो ।बैठकमा नेपाली अधिकारीले अदुवा निर्यातसम्बन्धी समस्या उठाएका थिए । यसैगरी अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखाका उपसचिव डा. प्रद्युम्न पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन भएको छ ।
मन्त्रालयको सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले वाणिज्य मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम, कृषि उद्यम केन्द्र र नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको थियो ।