काठमाडौं। नेपालमा दैनिक ५० करोड रुपैयाँभन्दा बढीको कृषिजन्य वस्तु आयात हुने गरेको छ । निर्यात भने दैनिक ६ करोड ३० लाख रुपैयाँबराबरको हुने गरेको छ । कृषिजन्य वस्तुमा निर्यातभन्दा आयात ८ गुणाभन्दा बढी छ ।
भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको साउनमा आयात १५ अर्ब १३ करोड र निर्यात १ अर्ब ८९ करोड रुपैयाँबराबरको भएको छ ।
कृषिजन्य वस्तुका आयात निकै वृद्धि भएकोमा निर्यात न्यून मात्र बढेको छ । गत आवको साउनमा कृषिजन्य वस्तु १ अर्ब ८४ करोड निर्यात र ११ अर्ब २३ करोडको आयात भएको छ ।
आयात ३६ प्रतिशत वृद्धि भएकोमा निर्यात २ प्रतिशत मात्र बढेको छ । यो तथ्यांकले नेपाली कृषिजन्य वस्तुको निर्भर झ्न बढ्दै गएको देखिन्छ ।
सबभन्दा बढी खाद्यान्न आयात भएको छ । खाद्यान्नको आयात झन्डै ४ अर्ब रुपैयाँ पुगेको छ । यस वर्षको साउनमा खाद्यान्न २ अर्ब ७१ करोडबाट बढेर ३ अर्ब ९७ करोड पुगेको छ ।जीवजन्तु र वनस्पति बोसो तथा तेल २ अर्ब १० करोडबाट बढेर २ अर्ब ७४ करोड, तरकारी १ अर्ब २७ करोडबाट बढेर १ अर्ब ६८ करोड, खाद्य उद्योगबाट प्राप्त अवशेष तथा रद्दी पदार्थ; जीवजन्तुको आहार ८७ करोडबाट बढेर १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ ।यसैगरी जीवजन्तु १८ करोडबाट बढेर २४ करोड, चिया कफी ४६ करोडबाट बढेर ७९ करोड पुगेको छ भने फलफूल तथा सुपारी ८८ करोडबाट ७९ करोडमा झरेको छ ।
दुई वर्षअघिसम्म विदेशबाट सबभन्दा बढी पेट्रोलियम पदार्थ आयात हुने गरेको थियो । अहिले पेट्रोलियम पदार्थको आयातभन्दा दुई गुणा बढी कृषिजन्य वस्तु आयात भएको देखिन्छ ।साउनमा ७ अर्ब ६ करोड रुपैयाँको मात्र पेट्रोलियम पदार्थको आयात भएको देखिन्छ । अन्तरराष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य कम भएको र कृषिजन्य वस्तु निरन्तर वृद्धि भइरहेकाले यस्तो देखिएको हो ।
यसैगरी कफी, चिया, र मसलाहरू ६५ करोड रुपैयाँबाट बढेर ८२ करोड, खाद्य उद्योगबाट प्राप्त अवशेष र रद्दी पदार्थहरू, जीवजन्तुको आहार १६ करोडबाट बढेर १९ करोड रुपैयाँ निर्यात भएको विभागले जनाएको छ ।