काठमाडौँ । कृषि विकास मन्त्रालयले अदुवाको निर्यातसम्बन्धी समस्या अध्ययन गर्न अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन शाखाका उपसचिव डा.प्रधुम्न पाण्डेको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको छ । मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा मंगलबार बसेको बैठकले वाणिज्य मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, राष्ट्रिय प्लान्ट क्वारेन्टाइन कार्यक्रम, कृषि उद्यम केन्द्र र नेपाल अदुवा उत्पादक तथा व्यवसायी संघका प्रतिनिधि रहने गरी कार्यदल गठन गरेको हो ।
यसैगरी सोही बैठकले निर्यातसम्बन्धी समस्या अध्ययन गर्न मन्त्रालयका सहसचिव डा.सुरज पोखरेलको संयोजकत्वमा नेपाली टोली आज बुधबार भारत जाने तयारी गरेको छ । बैठकले अदुवा निर्यात समस्यालाई नेपाल–भारत संयुक्त कृषि कार्यदल समूहको बैठकमा पनि मुद्दाका रूपमा उठाउने निर्णय गरेको छ । यस्तै अदुवामा भेटिएको विषादीका विषयमा सत्यतथ्य पत्ता लगाएर मन्त्रालयमा प्रतिवेदन बुझाउन खाद्य विभागलाई जिम्मेवारी दिइएको छ ।
नेपालमा उत्पादन हुने अदुवा खेतबाट उखेलेर सीधै करिब ९५ प्रतिशत अदुवा भारत निर्यात हुन्छ । सबैभन्दा बढी कुल उत्पादनको झण्डै ५५ प्रतिशतको हाराहारीमा काँकडभिट्टा नाकाबाट नेपाली अदुवा कोलकात्ता निर्यात हुँदै आएको छ ।
भारत पुगेको अदुवाको मेसिनबाट सफा गरी कटाई छँटाई गरी ग्रेडिङ गरी विभिन्न ब्रान्डिमा त्यहाँको आन्तरिक बजारमा खपत हुनुका साथै पाकिस्तान, बंगलादेश, जापान, जर्मनी, श्रीलंका, युएई र युकेलगायतका मुलुकमा निर्यात गर्दै आएको छ । नेपालबाट स्वतन्त्र रुपमा पनि यस्ता मुलुकमा अदुवा निर्यात हुँदै आएको छ ।
नेपालमा इलाम, पाँचथर, तेहथुम, धनकुटा, सिन्धुली, उदयपुर, खोटाङ, ओखलढुंगा, मकवानपुर, झापा, नवलपरासी, धादिङ नुवाकोट, रसुवा, पाल्पा, अर्घाखाँची, गुल्मी, दाङ सल्यान र कैलालीलगायतका जिल्लाको २३ हजार आठ सय २६ हेक्टरमा अदुवाको खेती हुन्छ ।