पाल्पा । पाल्पाको रामपुरमा पहिलो ससेज उद्योग सञ्चालनमा आएको छ । रामपुरका युवा राजन पोखरेल र ऋषि पोखरेलले सो उद्योग सञ्चालनमा ल्याएका हुन् । मासुजन्य पदार्थको उत्पादन वृद्धि गरी रामपुर क्षेत्रलाई मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले पोखरेल दाजुभाइले रू. दुई करोड १४ लाखको लागतमा ससेज उद्योग सञ्चालनमा ल्याएका हुन् ।

उद्योगमा ससेज, फ्रेस मिट, सलामी, हेम, लेग, ग्रिन चिकन, किमा, सुकुटी, रोष्टलगायतका परिकार बनाइने गरेको सञ्चालक ऋषि पोखरेलले बताए । सो उद्योग सञ्चालनका लागि व्यावसायिक कृषि तथा व्यापार आयोजना (प्याक्ट्र)को रू. २८ लाख र जिल्ला पशुसेवा कार्यालयले पसल सुधार कार्यक्रममार्फत रू. ३० हजार सहयोग गरेको थियो ।

दैनिक तीन क्विण्टल ससेज यहाँबाट पाल्पा, स्याङ्जा, तनहुँ, बुटवल, पोखरा, काठमाडौंसम्म निर्यात हुने गरेको छ । दैनिक तीन हजार किलो कुखुरा, ३ सयदेखि ६ सय किलो खसीको मासु प्रशोधन हुने गरेको छ । दुई रोपनीभन्दा बढी जग्गामा पोखरेल दाजुभाइले उद्योग सञ्चालनमा ल्याएपछि यहाँका युवालाई रोजगारी समेत मिलेको बताइएको छ ।

उद्योग स्थापनापछि जिल्लामा युवाको व्यावसायिक पशुपालनतर्फ आकर्षण बढेको जिल्ला पशुसेवा कार्यालका वरिष्ठ पशु विकास अधिकृत तुल्सीराम भण्डारीले बताए ।