SAM_1515
लमजुङ । लमजुङमा गत आर्थिक वर्ष २०७२/७३ मा ८६ ओटा व्यावसायिक पशुफार्म थपिएका छन् । पछिल्लो समय यहाँका पशुपालक किसान व्यावसायिक बन्दै गएको जिल्ला पशु सेवा कार्यालय लमजुङले बताएको छ । जिल्लाका किसान बढी मात्रामा बाख्राफार्म र पोल्ट्री फार्मतर्फ आकर्षित भएको जिल्ला पशुसेवा कार्यालयका वरिष्ठ पशु विकास अधिकृत डा. दीर्घनाथ ढुङ्गानाले जानकारी दिए ।
आर्थिक वर्ष २०७२/७३ मा लमजुङमा व्यावसायिक रूपले ३४ ओटा बाख्राफार्म, १३ ओटा भैंसीफार्म, ११ ओटा बङ्गुर फार्म, १० ओटा पोल्ट्रीफार्म र १० ओटा गाईफार्म थपिएको कार्यालयका सूचना अधिकृत शिवकान्त खनालले बताए । यसअघि परम्परागत रूपमा निर्वाहमुखी पशुपालन गरिरहेका किसान पछिल्लो समय व्यावसायिकतातर्फ उन्मुख भएको कार्यालयले बताएको छ ।
कार्यालयका अनुसार पछिल्लो समय जिल्लामा सबैभन्दा बढी ब्रोइलर पोल्ट्रीफार्म सञ्चालित छन् । लमजुङ कुखुराको मासु र अण्डामा ७५ प्रतिशत आत्मनिर्भर रहेको वरिष्ठ पशु विकास अधिकृत ढुङ्गानाले बताए । अझै धेरै फार्म दर्तामा आउन बाँकी रहेको पनि उनको भनाइ छ । व्यावसायिक पशुपालनमा युवा लक्षित कार्यक्रम ल्याइएकाले समेत व्यावसायिक फार्म सञ्चालकहरू बढेको कार्यालयका पशुचिकित्सक नारायण कुसुमले जनाकारी दिए ।
जिल्लामा सबैभन्दा कम भेडाफार्म रहेको छ । वरिष्ठ पशु विकास अधिकृत ढुङ्गानाका अनुसार १८ ओटा बाख्राफार्म, ११ ओटा गाईफार्म र १३ ओटा बङ्गुरफार्मलाई अनुदान सहयोग गरिएको छ । विदेशबाट फर्केर पशुपालन गर्ने किसानलाई अनुदानको कार्यक्रम ल्याइएको उनले बताए । त्यस्ता पशुपालक किसानलाई जनही २ लाख रुपैयाँसम्म अनुदान दिइने उनले जानकारी दिए । जिल्ला कुखुराको मासुमा करीब आत्मनिर्भर भइसकेकाले अनुदानको व्यवस्था नभएको उनको भनाइ छ । जिल्लामा निर्वाहमुखी पशुपालन गर्ने किसानको सङ्ख्या घटेको छ । बदलिँदो जीवनशैली, शहरी क्षेत्रमा बसाइसराइ, वैदेशिक रोजगारी, एकल परिवारको चलनलगायत कारणले निर्वाहमुखी पशुपालन गर्ने किसान घट्दै गएको अधिकृत ढुङ्गानाले बताए ।
पछिल्लो समय जिल्लामा पशुपालक किसानको सङ्ख्या बढेपछि अन्य जिल्लाबाट आउने मासु र दूधको परिमाण घटेको छ । कार्यालयका अनुसार कुखुराको मासु र अण्डामा जिल्ला आत्मनिर्भर हुने अवस्थामा पुगे पनि दूधमा भने अझै आत्मनिर्भर हुन सकेको छैन । जिल्लामा दैनिक २ सय लिटर दूध भित्रने गरेको पशुचिकित्सक कुसुमले बताए ।