images
चितवन । चाडपर्व नजिकिएसँगै बजारमा हरियो तरकारी तथा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएपछी उपभोक्ताहरुमा चिन्ता छाएको छ ।
‘हरियो तरकारी र खाने तेलको मूल्य छोइसाध्य छैन’,भरतपुर–९ केन्द्रिय बसपार्कका सिर्जना पौडेलले भनिन । ‘एक हप्ताअगाडि १ हजार १९० रूपैयाँमा किनेको सनफ्लावरको ५ लिटरको खाने तेलको मूल्य अहिले किन्दा १ हजार ४०० रूपैयाँ प¥यो’–उनले भनिन।
हरेक वर्ष चाडपर्वको समयमा व्यापारीहरुले मूल्य वृद्धि गरेर उपभोक्तालाई मर्कामा पारेको उनको भनाइ छ । स्थानीय निकायले दैनिक उपभोग्य वस्तुको सही अनुगमन नगरेकै कारण हरेक चाडपर्वमा सर्वसाधरणले महँगो मूल्य तिर्नुपर्ने बाध्यता रहेको उनले बताइन । बजार अनुगमनको नाममा स्थानीय निकायले कडाई नगरेसम्म उपभोक्ताहरु महँगीको समस्याबाट मुक्त हुन नसक्ने उनको बुझाइ छ । ‘बजार अनुगमनको नाममा बजार घुम्ने काममात्रै भएको छ’, उनले भनिन ।
नेपालको नियमनकारी निकाय नै कमजोर भएकोले पनि स्थानीयस्तरका काम त्यति प्रभावकारी नदेखिएको उनले बताइन । ‘दैनिकजसो अनुगमन भइरहेको सुन्नमा आए पनि प्रभावकारी छैन’–उनले भनिन ।यस्तै, हरियो तरकारी पनि महङ्गो भएको भरतपुर–१० की शान्ति कार्कीले बताइन् । ‘एकसय रूपैयाँ लिएर तरकारी किन्न जाँदा एक किलो तरकारी पनि आउँदैन’, उनले भनिन् । ‘चाडवाडकै समयमा व्यापारीहरुले सबै सामानको भाउ बढाउँदा पनि सम्बन्धित निकायले किन अनुगमन गर्दैन’, उनले प्रश्न गरिन् ।
यता व्यापारीहरुले भने भारतीय बजारको भर पर्नु परेकोले बजारमा सामानको मूल्य बढेको प्रतिक्रिया दिएका छन् । विशेषगरी चना र चिनीको मूल्य वृद्धि भएको उनीहरुले बताएका छन् । ‘केही दिनअघि चनाको मूल्य १५५ रूपैयाँ प्रतिकेजी थियो, तर अहिले १७० रूपैयाँ प्रतिकेजी पर्छ’, नारायणगढका व्यापारी निरज कुमारले भने । यस्तै चिनीको मूल्यमा पनि १० रूपैयाँ वृद्धि भएको उनले बताए । ‘जुन सामानको माग बढी हुन्छ त्यसको मूल्य बढ्नु स्वभाविक हो’, नारायणगढ तरकारीमण्डीका सन्दीप बुर्लाकोटीले भने । केही दिनअघि तरकारीको मूल्य बढे पनि अहिले भने केही कम भएको उनले बताए ।
तर, व्यापारीहरुले भने चाडवाडको समयमा माग नै बढी हुने भएकोले सामानको भाउ बढ्नु स्वभाविक भएको बताएका छन् ।