चितवन। चितवनमा दूध र मासुको उत्पादन बढेको छ । सरकारले युवा लक्षित कार्यक्रममार्फत किसानलाई अनुदान दिन थालेपछि दूध र मासुको उत्पादन बढेको हो । जिल्ला पशु सेवा कार्यालय चितवनमार्फत किसानलाई अनुदान वितरण गरिएको छ ।
मासुका लागि खसीबोका बंगुरदेखि दूधका लागि गाईभंैसी पाल्नेसम्मले पाएको अनुदानलाई प्रभावकारी रुपमा प्रयोगमा आएको छ । चितवनमा आर्थिक वर्ष ०७२/०७३ मा गाईभंैसीका लागि २० जनालाई ३३ लाख रुपैयाँ, बाख्राको लागि ४ जनालाई ८ लाख रुपैयाँ, बंगुरपालनमा ६ जनालाई १४ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको तथ्याङक छ ।
यस्तै, २०७१/०७२ मा गाईभंैसीमा २३ जनालाई ४१ लख रुपैयाँ, बंगुरमा ५ जनालाई ५ लाख रुपैयाँ र बाख्रामा ६ जना वा संस्थालाई ११ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको छ । अनुदानसँगै दूध र मासुको उत्पादन पनि बढेर गएको देखिन्छ ।
कार्यालयका अनुसार चितवनमा २०७२/७३ मा ८७ हजार ७९७ मेट्रिक टन दूध र २० हजार ५६५ मेट्रिक टन मासु उत्पादन भएको छ । यो संख्या अघिल्लो आर्थिक वर्ष ०७१/७२ मा कमी छ । कार्यालयका अनुसार गएको आर्थिक वर्षमा ८७ हजार ७७ मेट्रिक टन दूध र २० हजार ४२९ मेट्रिक टन मासु उत्पादन भएको छ ।
आर्थिक वर्ष २०७०/७१ मा ८२ हजार ९३० मेट्रिक टन दूध र १८ हजार ८१७ मेट्रिक टन मासु, २०६९/७० मा ७९ हजार ५१५ मेट्रिक टन दूध र १९ हजार ३३० मेट्रिक टन मासु उत्पादन भएको तथ्याङ्क जिल्ला पशु सेवा कार्यालयसँग छ ।
‘अनुदान केही अपवादबाहेक प्रभावकारी रुपमा देखिएको छ’ जिल्ला पशु सेवा कार्यालय चितवनका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. रामकुमार कार्कीले भने, ‘अनुदानले जिल्लामा मासु र दूधको उत्पादन बढाएको छ ।’
कार्यालयका प्रमुख डा. कार्कीले अनुदानले पशुको मासु दूधको उत्पादन बढाएसँगै विदेशबाट फर्किएकाहरुलाई स्वदेशमै काम गर्ने उत्साह जागेको बताए ।
‘यो कार्यक्रमकोे प्रमुख लक्ष्य विदेश जान चाहने युवालाई स्वदेशमै आत्मनिर्भर बनाउन कृषि पेशामा लगाउने हो । विदेश नै जान खुट्टा उचालेकालाई त यो अनुदानले रोक्न सकेको छैन तर विदेशबाट फर्केकाहरुले अनुदान लिएर राम्रो काम गरिरहेका छन्’ डा. कार्कीले भने । उनले अनुदान कार्यक्रमले किसानलाई पशु बिमा गर्ने, व्यावसायिक रुपमा घाँसपालन गर्नेजस्ता कार्यहरुमा पनि उत्साह थपेको जनाए ।