नेपालगन्ज। दसै नजिकिँदै गर्दा नेपालगन्ज नाकाबाट खसीबोका भित्रिने क्रम बढेको छ। व्यापारीले भारतीय बजारमा खरिद गरेर ल्याएको खसी बोका नेपालगन्ज नाका हुँदै काठमाडौं, पोखरा लगायत ठाउँसम्म पठाउने गरेका छन्।
नेपालगन्ज, जैसपुरका पुराना व्यापारी सरिफ कुरैसीले दसैं लक्षित खसीबोका आयात गर्ने क्रम सुरु भइसकेको बताए। उनले बुधबारमात्र ६ सय २० वटा खसीबोका राजधानी पठाएका छन्। ‘असोज महिना सुरु भएपछि आयात दर बढेको छ, विस्तारै माग बढेकाले आयात दर बढेको हो,’ उनले भने ‘सोह्रश्राद्धपछि खसीबोकाको माग झन् धेरै बढ्छ, त्यसपछि पुर्‍याउनै मुस्किल पर्छ।’
अरु बेला हप्तामा करिब ६ सय खसीबोका आयात गर्ने गरेका उनले अचेल हजार हाराहारी आयात गर्ने गरेको बताए। ‘दसैं नसकिँदासम्म खसीबोका आयात घट्दैन,’ व्यापारी सरिफले भने। व्यापारीले सामान्य अवस्थामा साताको बुधबार, बिहीबार र शुक्रबार भारतबाट खसीबोका आयात गर्छन्। अचेल भने सातामा दैनिक जसो आयात गर्ने गरेको पाइएको छ।
जैसपुरकै अर्का व्यापारी नियाज कुरैसीले पनि दसैं लक्षित खसीबोका किनेर राजधानी पठाइरहेका छन्। सातामा दुईपटक खसीबोका आयात गरिरहेका छन्। ‘एकपटकमा लगभग मेरो ६–७ सय जति खसीबोका आइरहेको छ,’ उनले भने। व्यापारीले भारतबाट कुतुवा मूल्यमा खसीबोका किनेर ल्याउँछन्। नेपालगन्ज नाका हुँदै काठमाडौं पुर्‍याएर जिउँदो प्रतिकिलो ४ सय ४५ रुपैयाँमा बेच्छन्। भारतबाट व्यापारीले ल्याएका खसीबोकालाई पशु क्वारेन्टाइन चेकपोस्टले जाँचेर स्वीकृति दिन्छ। क्वारेन्टाइन कार्यालयका अनुसार भदौ २५ देखि ३१ गतेसम्म नेपालगन्ज नाकाबाट ३ हजार ४ सय ९२ र असोज १ गतेदेखि ५ गतेसम्म १ हजार ८ सय ६० वटा खसीबोका आयात गरिएको छ।
पशु क्वारेन्टाइन कार्यालय नेपालगन्जका प्रमुख डा. शंकर पाण्डेले दसैंलाई लक्षित गरेर केही दिनदेखि खसीबोका आयात हुने क्रम बढेको बताए। ‘यो नाकाबाट आयात हुने खसीबोका बढीजसो काठमाडौं पठाइन्छ,’ उनले भने। भारतबाट आयात हुने खसीबोकाको स्वास्थ्य परीक्षण गरेरमात्र प्रवेश अनुमति दिने गरेको प्रमुख पाण्डेले बताए। ‘हामीसँग नाकामै होल्डिङ यार्ड (खसीबोका राख्ने ठाउँ) छ,’ पाण्डेले भने ‘यहाँ अनलोड गरेर स्वास्थ्य जाँच गरिसकेपछि मात्र प्रवेश अनुमति दिइन्छ।’