डा. विष्णु विलास अधिकारी
सह-प्राध्यापक, लमजुङ्ग क्याम्पस

परिचय
नेपालको कुल जनसंख्याको ७० प्रतिशत भन्दा बढि जनसंख्या गाउँमा बस्छन भने करिब दुई तिहाइ (६५.६ प्रतिशत) जनसंख्या कृषिमा निर्भर भएको पाइन्छ । कृषि व्यवसायलाई देश विकासको एक अभिन्न अंगको रुपमा लिइन्छ ।

देशको कुल ग्राहस्त उत्पादनको करिब ३२ प्रतिशत योगदान कृषि क्षेत्रबाट रहि आएको छ भने देशका करिब ८० प्रतिसत उद्योगहरु कृषिमा आश्रित छन । कृषिको समुचित विकास नभएसम्म मुलुकको विकास असम्भव छ ।

पुरानो खेती प्रणाली, उन्नत बिऊ मलको कमी, उन्नत प्रविधिको कमी, सिंचाइको कमी, जमिनमा द्धैध स्वामित्व, कृषि प्राविधिकहरुको कमी, व्यवसायिक खेती प्रणालीको कमी, व्यवस्थित बजारको कमी, कृषि व्यवसायमा युवाहरुको चाहनामा कमी आदिको कारणहरुले गर्दा नेपालमा कृषि व्यवसायको उचित विकास हुन सकेको छैन ।

यस खालको यथार्थ अवस्था भएर पनि बढदो जनसंख्याको कारण दिनानुदिन बढदै गएको खाद्य संकट, रोजगारीको कमी, कृषियोग्य जमिनमा बढ्दो सहरीकरण, पहाडका धेरैजसो पाखो जग्गाहरु बाँझो छाडेको अवस्था आदिका कारण देशको कृषि व्यवसाय दिनानुदिन कमजोर बन्दै गएको छ । अर्कोतर्फ खेती गरिएका जमिनमा उत्पादन बढाउने अभिप्रायले कृषकहरुले मनपरी मात्रामा रासायनिक मलखाद र विषादीको प्रयोग गर्ने गरेको पाइन्छ ।

दक्षिण एसियाका अन्य मुलुकहरुको तुलनामा औषत रासायनिक मलखाद र विषादीको प्रयोग कम भएता पनि अधिकांस बालीमा कृषकहरुले रासायनिक मलखादको नाममा यूरिया मलको मात्र असन्तुलित प्रयोग गरेको पाइन्छ भने विषादीहरुको प्रयोग पनि एग्रोभेटको सल्लाह मुताबिक मनपरी ढंगबाट गरेको पाइन्छ ।

खासगरी व्यवसायिक तरकारी खेतीमा विषादी र रासायनिक मलखादको अत्याधिक वा असन्तुलित प्रयोग गरेको कारण हाम्रो माटो, नदीनाला, ताल तलैया, वायुमण्डल र उत्पादन बाली समेत दुषित हुनगई मानव र पशु स्वास्थमा प्रत्यक्ष असर पारेका उदाहरणहरु हामी सामु प्रसस्त छन् ।

वर्षेनी समाजमा विभिन्न खालका रोगहरु (क्यान्सर, मुटुका रोग, मिर्गौलाका रोग, कलेजो सुनिने, रक्तचाप बढने, मधुमेह, मस्तिस्कघात आदि) का कारण मानिसहरुको अल्पआयूमा मृत्यू भएका घटनाहरु प्रसस्त देखिन्छन् । पानीमा मलखाद र विषादीको मात्रा बढी मिसिनाले पिउनको लागि असुरक्षित र अयोग्य बन्दै गएका छन् भने किनेर खाइने बजारका तरकारी, फलफूल, माछा, मासु, दुध विषादिमुक्त छैनन् । समुदायमा जनचेतना जगाइ आइपरेका यस प्रकारका समस्याबाट केहि हदसम्म मुक्ति दिलाउने उद्धेश्यले यो संक्षिप्त लेख पस्कने जमर्को गरिएको छ ।

प्रांगारिक खेती भनेको के हो ?

प्रांगारिक खेति भन्नाले रासायनिक विषादी तथा रासायनिक मलखाद रहित गरिने खेतिलाई बुझिन्छ । प्रांगारिक खेतिमा रासायनिक मलखादको सट्टामा गोठेमल, कम्पोष्टमल, पिना, खरानी, हरियोमल, गँडयौलेमल, शुक्ष्म जैविक मल आदिको प्रयोग गरिन्छ भने रासायनिक विषादीको सट्टामा स्थानीय स्तरमा पाइने जैविक बनस्पतीहरु जस्तैः असुरो, तितेपाती, खिर्रो, निम, खुर्सानी, बोझो, टिमुर, सिस्नु, बनमारा, सुर्ति आदिको समिश्रणबाट तयार गरि बनाइएको प्रांगारिक विषादीहरुको प्रयोग गरिन्छ वा बजारमा पाइने विभिन्न नामका बनस्पतिजन्य प्रांगारिक विषादीहरुको प्रयोग गरिन्छ ।

जसको प्रयोगले मानव स्वास्थ्यमा वा वातावरणमा प्रतिकुल प्रभाव पर्दैन र हामीले रसायनको अनुचित उपयोगले दुःख दर्दको सामना गरि अल्पआयूमा ज्यान गुमाउनु पर्दैन ।

नेपालमा प्रांगारिक खेतीको इतिहास

अमेरिका, यूरोप, अष्ट्रेलिया महाद्धिपका ठुला बजारहरुमा प्रंगारिक उत्पादनको प्रयोग दिनानुदिन बढदै गएको भए पनि विकसित देशहरुमा अझैसम्म प्रांगारिक उत्पादनको बजार बढ्न सकेको छैन ।

नेपालमा कृषि क्रान्तीको समयमा अर्थात वि.सं २०२२ साल देखि मात्र सरकारले प्रति एकाई जमिनमा खाद्यान्न तथा तरकारी बालीका उत्पादन बढाउन उन्नत जातका बिउको प्रयोग, रासायनिक मलखाद र विषादीको प्रयोग आदिलाई प्राथमिकता दिएको पाइन्छ ।

रासायनिक मलखाद र विषादीको प्रयोगबाट उत्पादन बढाई खाद्यसंकट कम भएतापनि अत्याधिक रासायनिक विषादी र मलखादको प्रयोगबाट माटो, वातावरण, पानी र मानव स्वास्थ्यमा पर्न गएको प्रतिकुल प्रभावलाई कम गर्न वि.सं. २०४७ मा नेपालमा प्रांगारिक खेतीको सुरुवात भएको पाइन्छ ।

नेपाल सरकारले दशौ पञ्चवर्षिय योजना (वि.सं २०६० देखि २०६५) मा मात्र प्रांगारिक खेतीलाई प्रत्यक्ष मान्यता दिएको पाइन्छ । नेपालमा प्रांगारिक खेतीको मान्यता पछि मात्र सरकारी, गैर सरकारी र निजी प्रयासवाट विभिन्न स्थानमा प्रांगारिक नर्सरी, प्रांगारिक फार्महरुको स्थापना गरि विभिन्न बालीमा प्रांगारिक उत्पादन गरेर देश तथा विदेशमा बिक्री वितरण गर्ने गरेको पाइन्छ ।

हाल जुम्ला जिल्ला प्रांगारिक जिल्लाको रुपमा घोषणा भैसकेको छ भने अन्य उच्च पहाडी जिल्लाहरुलाई पनि प्रांगारिक जिल्ला बनाउने प्रयास जारी छ ।

नेपालमा कुन कुन वालीमा प्रांगारिक खेतीको सुरुवात गरिएको छ ?

नेपालमा हाल सरकारी तबरबाट भन्दा पनि गैर सरकारी संस्थाहरु र निजी स्तरमा विभिन्न बालीनालीमा प्रांगारिक खेती सुरु गरिएका छन् । नेपालमा हाल हसेरा, आशापुरी, दिगो कृषि विकास फार्म, अर्गानिक कृषि फार्म, माउन्टेन इकोफार्म आदि नामका प्रांगारिक फार्म एवं नर्सरीहरु स्थापना गरेर अर्थोडक्स ब्याक एण्ड ग्रीन चिया, अलैंची, अदुवा, लेमनग्रास, कफि, मह, हर्वल तेल, श्याउ आदिको उत्पादन भएका छन ।

नेपालका प्रमुख प्रांगारिक उत्पादनहरु वर्षेनी राष्ट्रिय र अन्तर्राट्रिय बजारहरु (अमेरिका, क्यानडा, जापान, अष्ट्रेलिया, पोल्याण्ड, जर्मनी, स्पेन, बेल्जीयम आदि) मा निकासी गरिन्छन् ।

नेपालमा प्रांगरिक खेतीको सम्भावना कस्तो छ ?

नेपालमा हालसम्म धेरै कम बालीमा प्रांगारिक खेती सुरु गरि निर्यात गर्न थालिएको भए पनि धेरै बालीमा प्रांगारिक खेती गर्ने सम्भावना छ । नेपालमा समुन्द्र सतहबाट ६० मिटर देखि ४२०० मिटर सम्म विभिन्न खालका अन्नबाली, तरकारी, फलफुल र जडीबुटी खेती गर्न सकिन्छ । जुम्ला जिल्ला प्रांगारिक जिल्ला घोषणा भएको र अधिकांस हिमाली क्षेत्रका जिल्लाहरुमा हालसम्म पनि रासायनिक मल र विषादी प्रयोग अत्यन्त कम भएका कारण प्रांगारिक जिल्ला घोषण गर्न सजिलो छ ।

हामीले तराई क्षेत्रमा अन्नबाली, तरकारी र फलफूल (केरा, आँप, कटहर, भुईकटहर, लिची आदि), मध्य पहाडमा बास्नादार मसिना धानका जातहरु जस्तैः एक्ले, डल्ले, झिनुवा, सुनौलो सुगन्धा, अनती आदि, सुन्तला, कागती, जुनार, अम्बा आदि र उच्च पहाडमा प्रांगारिक मासु, दुध, अधिकांस तरकारी, फलफुल (स्याउ, अंगुर, ओखर, आरु, नास्पाती, खुर्पानी, आरुबखडा आदि), फापर, जौ, जडिबुटी, मह आदिको प्रांगारिक खेती गरि राष्ट्रिय र अन्तर्राट्रिय बजारमा सहजै पठाउन सक्छौ ।

नेपालमा प्रांगारिक खेतीवाट के के फाइदाहरु छन् ?

प्रांगारिक उत्पादन प्रयोग गर्नाले मानव स्वास्थमा कुनै प्रतिकुल असर पर्दैन भने रासायनिक मलखाद र विषादीको अत्यधिक प्रयोगबाट वातावरणमा पर्न गएको असरलाई पनि कम गर्न सकिन्छ ।

मानवको औषत आयू वर्षेनी बढदै जान्छ । रोगव्याधको प्रकोप कम हुन्छ जसबाट उपचारमा लाग्ने खर्च स्वत जोगिन्छ । प्रांगारिक उत्पादन अन्य उत्पादन भन्दा केही महंगो हुने हुँदा विभिन्न हावापानी र सिजन मिलाएर खाद्यान्नबाली, तरकारी, फलफुल बालीको प्रांगारिक बिऊ उत्पादन, प्रांगारिक मासु वा दुध र दुधका परिकारहरु, तरकारी खेती, फलफुल खेती, मह, माछा, बास्नादार धान, जडीवुटी, हर्वल तेल आदिको उत्पादन निर्यात गरि विदेशी पैसा सहजै आर्जन गर्न सकिन्छ ।

यीनै प्रांगारिक खेती व्यवसायमा यूवाहरुलाई संलग्न गराई दिगो स्वरोजगारको व्यवस्था समेत मिलाउन सकिन्छ । हालका वर्षमा नेपाल सरकारले प्रांगारिक खेतीलाई बढावा दिन कृषकहरुलाई केही अनुदानको व्यवस्था गर्नुका साथै यूवाहरुलाई निशुल्क तालिमको व्यवस्था समेत गरेको छ ।

प्रांगारिक खेतिका मुख्य समस्याहरु के के हुन ?

अप्रांगारिक खेतीको तुलनामा प्रांगारिक खेती गर्न केहि अपठ्याराहरु हुने र उत्पादन पनि केहि कम हुने हुँदा कृषकहरुले यो प्रविधि अपनाउन केहि आनाकानी गरेको पाइन्छ । प्रांगारिक खेती गर्न खासै गाह्रो छैन । हामीले हालसम्म अपनाउने गरेका खेती प्रविधिहरु जस्तै भए पनि प्रांगारिक खेतीमा रासायनिक मल र विषादीको सट्टामा प्रांगारिक मल र प्रांगारिक विषादीको प्रयोग गर्नु पर्छ ।

यदि अप्रांगारीक खेती गरेको जग्गामा प्रांगारीक खेती गर्ने हो भने करिब पाँच वर्ष प्रांगारिक खेती गरेपछि मात्रै सो जग्गालाई प्रांगारिक खेतीको लागी प्रमाणित गर्न सकिने हुन्छ ।

प्रांगारिक उत्पादनलाई बजारमा लैजानुपुर्व प्रयोगशालामा परिक्षण गरिे प्रमाण पत्र लिएर ट्याग लगाएपछि मात्र सो उत्पादन स्वदेशी तथा विदेशी बजारमा बिक्री गर्न योग्य हुन्छ । नेपालका प्रांगारिक उत्पादनलाई प्रमाणिकरण गर्न नासा (NASA) ले सहयोग गर्दै आएको छ । प्रांगारिक उत्पादन केहि महंगो पर्ने हुँदा ग्राहकहरुले किन्न हिचकिचाउने गरेको पनि पाइन्छ ।

प्रांगारिक उत्पादनमा ग्यारेन्टी गर्न नसक्नु पनि हाम्रो एक ठुलो समस्या हो । गत वर्ष नेपालले उत्पादन गरेको मह परिक्षण गर्दा प्रांगारिक उत्पादनमा केहि आशंका भएकोले अधिकांस उत्पादन अन्तर्राष्ट्रिय बजारमा जान रोक लगाइएको थियो ।

भारतमा प्रांगारिक खेतीको लागि सरकारले राम्रो अनुदानको व्यवस्था र उत्पादनको बजारको उचित व्यवस्था गरेको कारण कृषकहरुमा प्रांगारिक खेतीमा आकर्षण बढेको पाइन्छ भने नेपालमा यी सबै कुराको ग्यारेन्टी हुन सकेको छैन ।

समस्याको समाधान कसरी गर्ने ?

नेपाली कृषक जगतमा प्रांगारिक खेती प्रविधि सम्बन्धि काम गर्न र गराउन सरकारी तथा गैर सरकारी संघ संस्थाहरु विभिन्न जिल्लामा कार्यरत छन । इन्टिच्यूट फर सस्टेनेबल एग्रीकल्चर नेपाल (INSAN), नेपाल कम्यूनिटी सपोर्ट ग्रुप (NECOS) १९८९, जाजरकोट पर्माकल्चर प्रोग्राम १९९१, लोटस ल्यण्ड एग्रीकल्चर फार्म १९९१, कम्यूनिटी व्वेलफेयर एण्ड डेभलपमेण्ट सोसाइटी, हसेरा एग्रीकल्चर फार्म १९९२, नेपाल पर्माकल्चर ग्रुप १९९२, इकोलोजिकल सर्भिस सेन्टर, अर्गानीक नेपाल २००१ आदिमा सम्पर्क राखि खेती प्रविधिको बारेमा जानकारी लिन सकिन्छ साथै समस्या परेका बखत समाधानका उपायहरु पनि अपनाउन सकिन्छ ।

यसैगरी कृषि र पशु विज्ञान अध्ययन संस्थानका क्याम्पसहरु (लमजुङ्ग क्याम्पस, पक्लिहवा क्याम्पस, रामपुर क्याम्पस, दाङ र बैतडिका कृषि कलेज का साथै कृषि तथा वन विश्वविद्यालय रामपुर चितवनबाट समेत सरसल्लाह र सुझाव लिन सकिन्छ ।

यसका साथै कृषकहरुले सबै जिल्लाका कृषि विकास कार्यलयहरुबाट पनि समस्या समाधानका लागि परामर्स र अनुदान समेत लिन सकिने व्यवस्था छ । प्रांगारिक खेती गर्न चाहने संघ संस्था वा व्यक्तिहरुले यी उल्लेखित संस्थाहरुमा गई तालिम समेत लिन सक्नेछन ।