जुम्ला। जुम्लाबाट यो बर्ष हालसम्म १ हजार ५ सय मेट्रिक टन स्याउ निर्यात भएको छ । नेपालगंज, सुर्खेत, बुटवल, पोखरा, धनगढी र काठमाडौं लगाएतका शहरमा स्याउ निर्यात भएको हो ।

जुम्लाको स्याउ निर्यात हुने क्रममा रहेको जिल्ला कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । गतवर्ष जुम्लाबाट ३४ करोडको स्याउ निर्यात भएकोमा यो बर्ष उत्पादनमा २५ प्रतिशतले कमी आएको बताइन्छ ।राम्रो मूल्य पाएका कारण किसानहरुले राम्रो आम्दानी गर्न सक्ने प्राविधिक सहायक खेमराज शाहीले बताए । ‘जुम्लामा अहिले ६० रुपैयाँमा स्याउ बिक्री भइरहेकोले छ ।’ उनले भने,–‘यो बर्ष किसानहरुले राम्रो आम्दानी लिनेछन् ।’

प्राबिधिक शाहीका अनुसार ८ सय ५० हेक्टर जग्गाबाट ३ हजार १ सय ६० टन स्याउ उत्पादन भएको छ । यस वर्ष स्याउ उत्पादन कम भएपनि मूल्य बढी भएकाले आम्दानी पनि बढी भएको कार्यालयले जनाएको छ ।

जुम्लाबाट स्याउ निर्यातको क्रम जारी रहेकाले निर्यात दर अझै बढ्न सक्ने बताइएको छ । गतवर्ष ६० प्रतिशत स्याउ निर्यात भएकोमा यसवर्षको हालसम्म ५५ प्रतिशत स्याउ निर्यात भएको छ । असोजको पहिलो हप्तासम्म स्याउ विक्रि वितरण हुने भएकोले अझै निर्यात प्रतिशत बढ्न सक्ने बताइएको छ ।