चितवन ।चितवनको माडी नगरपालिका–५ खादर टोलका बासिन्दाहरूको धान बाली हात्तीले खाइदिँदा पीडित बनेका छन् ।
टोलमा पसेको दुई हात्तीले धान खेती खाइदिएको स्थानीयबासी पारस सहनीले बताए ।
खादरटोलमा गैंडाको समेत त्रास उत्तिकै रहेको बताइएको छ । सो क्षेत्रमा लगाइएको सोलार फेन्सले पनि काम गर्न छाडेकाले वन्यजन्तुको बिगबिगी बढेको स्थानीयले बताए । उक्त क्षेत्रसहित रतनी, धोबाहा सिमरामा पनि वन्यजन्तुले स्थानीयले लगाएको धानबाली खाने र बस्तीमा जनावर प्रवेश गर्ने हुदा त्यस क्षेत्रका स्थानीय थप पीडित बनेका छन् ।
बाढीको समेत उच्च जोखिम रहेको क्षेत्रमा वन्यजन्तुको आगमन बढेसँगै स्थानीयलाई के खाने भन्ने समस्याले पिरोल्न थालेको छ । तर, आफ्नो आवाज कसैले नसुनेको स्थानीयले गुनासो गरेका छन् । चितवन निकुञ्जले घेरिएको मध्येवर्ती क्षेत्रमा पर्ने माडी उपत्यकाको ४ गाविसमा जंगली जनावरको त्रासका कारण जनजीवन प्रभावित हुँदै आएको छ । दैनिकजसो वन्यजन्तु बस्तीमा पस्ने गरेकाले उनीहरु साँझ बिहानको काम पनि प्रभावित हुँदै आएको स्थानीयले बताएका छन् ।
त्यसैगरी माडीको कल्याणपुर–६ हरिनगरमा निकुन्जबाट निस्केको गैंडाले करिब १ बिघा धान खाएर सखाप पारेको स्थानीयले बताएका छन् । गत साउन महिनामा मात्रै सो क्षेत्रमा जंगली जनावरको आक्रमणमा दुई जनाको ज्यान गइसकेको छ । स्थानीय विष्णुप्रसाद रिमाल, अणनाथ रिमाल, लोकनाथ रिमाल र केशव दाहालको धानबालीमा शनिबार पनि गैंडा पसेको थियो । स्थानीयले वन्यजन्तु बस्तीमा पस्ने क्रम नियन्त्रण गर्न निकुञ्जसँग आग्रहसमेत गरेका छन् । उचित क्षतिपुर्तिको व्यवस्था गर्न समेत उनीहरुको माग छ ।
हरिनगर क्षेत्रमा ५० घरधुरी जंगली जनावर प्रभावित भए पनि क्षतीपूर्ती समेत नपाएको उनीहरुको दुःखेसो छ । कल्याणपुर मध्यवर्ती उपभोक्ता समिति तथा गाविसको सहयोगमा एक लाख ८० हजारको लागतमा बाँध निर्माण भए पनि त्यो पूर्ण नभएका कारण जनावर सजिलै बालीनालीमा प्रवेशगर्ने गरेका छन् । सो क्षेत्रमा गत वर्ष १३ वटा घरगोठ जंगली जनावरले भत्काएको र लाखौको अन्नपात क्षती गरेको इलाका प्रहरी कार्यलय माडीले जनाएको छ । निकुञ्जबाट निस्किएको वन्यजन्तुको आक्रमणमा गएको दुई वर्षमा यहाँ २० जनाको ज्यान गएको र २६ जना घाइते भएको तथा ४ चौपाया मारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।