धनगढी। चरम भोकमरी समस्या रहेको सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा चाडपर्वको बेला खाद्यान्न अभाव नहुने जनाइएको छ ।
ती जिल्लाहरुमा केही चामल मौज्दात रहेको र बाजुरा बाहेक चार जिल्लामा थप ढुवानी समेत भएकाले जनताले ढुक्कसँग चाडपर्व मनाउन पाईने बताइएको छ । भोकमरी समस्या रहेका जिल्लामा खाद्यान्न ढुवानी र बिक्री गर्दै आएको नेपाल खाद्य संस्थान क्षेत्रीय कार्यालय धनगढीले दसैं, तिहारसम्मका लागि पुग्ने गरी चामल पठाएको जनाएको छ ।बढी समस्या हुने जिल्लामा पहिलेकै चामल मौज्दात रहेको र असार महिनापछि केही जिल्लामा थप चामल पठाइएकाले चाडपर्वमा अभाव नहुने संस्थानका अञ्चल प्रमुख डिल्लीराज लम्सालले बताउनुभयो ।
सबैभन्दा बढी खाद्यान्न आवश्यक हुने बाजुरामा भने बाटो समस्याका कारण चामल पठाउन नसकेको जनाइएको छ । बर्षा याममा बिग्रेको बाटो हालसम्म नबनेकाले बाजुरामा दसैं अगाडि चामल ढुवानी गर्न नसकिने लम्सालले बताउनुभयो । तर, बर्खा अगावै नै बाजुरामा बढी परिमाणमा चामल पठाइएकाले पर्वसम्म पुग्ने गरी मौज्दात रहेको उहाँले उल्लेख गर्नुभयो ।
बाजुराको कोल्टी र मार्तडी गरी बर्खा अगाडि १२ हजार क्वीन्टल चामल पठाइएको थियो । हाल कोल्टीमा तीन र मार्तडीमा एक हजार चामल मौज्दात रहेको र यति चामल तिहारसम्म पुग्ने बताइएको छ । त्यस्तै, दार्चुलामा पाँच सय क्वीन्टल चामल पठाइएको छ । गतर्वकै तीन सय क्वीन्टल चामल मौज्दात रहेको बझाङमा थप एक सय क्वीन्टल चामल केहि दिन अगाडि पठाइएको छ ।
अछाममा दुई सय क्वीन्टल चामल पठाइएको छ । उक्त जिल्लामा १५० क्वीन्टल चामल गतवर्षकै मौज्दात रहेको थियो । यस्तै, बैतडीको लागि एक सय क्वीन्टल चामल ढुवानी भएको छ । डडेल्धुरा र डोटीमा भने स्थानीय व्यापारीहरु मार्फत नै चामल विक्री हुने गरेकाले संस्थानले यी दुई जिल्लामा चामल ढुवानी गरेको छैन ।
किनेर गुजारा गर्नु पर्ने सबै जिल्लामा पर्याप्त मात्रामा चामल पुगि सकेकाले त्यहाँका जनताहरुले चाडपर्व ढुक्कसंग मनाउन पाउने अञ्चल प्रमुख लम्सालले बताउनुभयो । ‘यदि, कम हुने अवस्था आएमा हामीले केन्द्रको स्वीकृति लिएर आवश्यक चामल तत्कालै पनि ढुवानी गर्न सक्छौं’, उहाँले अगाडि थप्नुभयो–‘किनकी हामीसंग अझै पर्याप्त मात्रामा मौज्दात छ ।’संस्थानको धनगढी स्थित क्षेत्रीय कार्यालयको गोदाममा साढे १३ हजार क्वीन्टल चामल मौज्दात रहेको जनाइएको छ । सो कार्यालयले यो वर्ष प्रति किलो ३५ रुपिया २० पैसामा चामल बिक्री गरिरहेको छ ।
सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा सुख्खा तथा खडेरीका कारण खाद्यान्न उत्पादन निकै कम हुने गरेकाले त्यहाँका अधिकांश जनताको छाक तराईको उत्पादनमा निर्भर रहेको बताइएको छ । सबै जिल्लाको गरी वार्षिक ३२÷३३ हजार क्वीन्टल चामल कोटा केन्द्रले निर्धारण गरे पनि ३५÷३६ हजार क्वीन्टल चामल पठाउने गरेको अञ्चल प्रमुख लम्सालको भनाइ छ । उहाँले सबै जिल्लामा कोटा अनुसार चामल रहेको उल्लेख गर्नुभयो ।