लोकनाथ अर्याल
प्राविधिक अधिकृत
बागवानी अनुसन्धान केन्द्र
राष्ट्रिय कृषि अनुसन्धान परिषद्

परिचय :
हाम्रो देश जैविक विविधतामा धनी मुलुक हो । यहाँ विभिन्न प्रकारका वनस्पतिहरू सजिलै उपलब्ध छन् । बोटबिरुवाका विभिन्न भागहरू आदि अनादि कालदेखि नै शक्ति वर्धक पदार्थका साथै मानिसको रोग उपचारमा प्रयोग हुँदै आएको कुरा हाम्रा पौराणिक लेख तथा धार्मिक ग्रन्थहरूबाट थाहा पाइन्छ । यिनै कतिपय वनस्पतिहरू सयौँ वर्षदेखि बालीनालीका रोग तथा कीरा नियन्त्रणमा समेत प्रयोग हुँदै आएका छन् । तर “नजिकको तिर्थ हेला” भने जस्तै हाम्रो स्कुले कोरा शिक्षाले यी स्थानीय वनस्पतिहरूको खोज, अनुसन्धान र तिनको उचित प्रयोग गर्ने तर्फ खासै ध्यान पुर्याएन । फलस्वरुप हामीहरूले मानिसको औषधिमूलो लगायत पशुपंछी र बालीनालीको रोग कीरा वा परजीवि नियन्त्रण वा व्यवस्थापनमा आफ्नै गाउँघरमा पाइने वनस्पति (जडीबटुी) हरूको प्रयोगमा विकास गर्नको सट्टा आयातित रासायनिक पदार्थहरूबाट निर्मित औषधी तथा विषादीहरूको प्रयोगमा जोड दिइयो । तर हाल यस्ता वनस्पतिहरूको प्रयोगबाट बालीनालीको रोग कीरा व्यवस्थापन गर्ने तर्फ किसान तथा प्राविधिकहरूको केहि ध्यान जान थालेको छ । यसका केहि उदाहरणहरु तल दिइएको छ :
१. खरानी र अंडिरको तेल :
२–३ किलो खरानी र १ लिटर अंडिरको तेल मिसाएर बनाएको मिश्रण प्रति १०० व.मि.का दरले नर्सरी व्याडमा प्रयोग गर्नाले तरकारीको व्याडमा लाग्ने ढुसीजन्य रोगहरू नियन्त्रण भएको पाइएको छ । जस्तै– बेर्ना कुहिने रोग –Damping off (Pythium debaryanum)। यी चिजहरू ७–१० दिनको फरकमा २–३ पटक प्रयोग गर्नु पर्दछ ।
२. बोझोको पाउडरद्वारा बीउ उपचार :
१० लिटर पानी उमाल्ने र रातभर राख्ने । भोलिपल्ट बिहान त्यसमा ४ लिटर गहूँत र २०० ग्राम बोझोको पाउडर मिसाएर राम्ररी चलाउने । त्यसमा अब बीउ मिसाउने । माथि तैरिएका बीउ हटाउने र बाँकी बीउलाई १५ मिनेटसम्म भिजाई राख्ने । त्यसपछि उक्त बीउ नसुकाईकनै रोप्ने । यसले गर्दा नर्सरीमा लाग्न सक्ने रोग र कीराबाट बचाउँछ । यसरी एक किलो बीउ उपचार गर्न करीब २.५ लिटर पानी, १ लिटर गहूँत र ५० ग्राम बोझोको पाउडर चाहिन्छ ।
३. शितल चिनीको पात :
शितल चिनीको पातमा Crystalline alkaloids भन्ने यौगिक पाइन्छ जसले Damping off (Pythium debaryanum) को वृद्धिमा नकारात्मक असर पार्दछ । त्यसो हुनाले शितल चिनीको पातहरू माटोमा प्रयोग गर्नाले Damping off रोग नियन्त्रण हुन्छ । पातहरू मसिना टुक्रा गरी बीउ जमाउनु भन्दा एक हप्ता अघि नै माटोमा राम्ररी मिलाउनु पर्दछ । जसले गर्दा पातमा भएको Active Compound बीउ उम्रन लाग्नासाथ माटामा उपलब्ध हुन पाउँदछ । यसले माटोमा बस्ने हानिकारक किराको पनि व्यवस्थापन भएको पाइएको छ ।
४. अदुवा :
अदुवाको धुलो (पाउडर) २० ग्राम प्रति लिटर पानीमा घोली १५ दिनको फरकमा ३ चोटी प्रयोग गरेमा खराने रोग (Erysiphae polygoni), धानको खैरो थोप्ले रोग (Drechslera oryzae), आलु तथा धानको फेंद कुहिने रोग (Rhizoctonia solani), धानको फेंद कुहिने रोग (Sclerotium oryzae) र बोटको फेंद कुहिने रोग (Sclerotium rolsifi) आदि नियन्त्रण भएको पाइएको छ ।
५. निम :
५ ग्राम (१ चिया चम्चा) मन तातो नीमको तेल, २.५–५ ग्राम (०.५–१ चिया चम्चा) घोलक (Emulgator) र २.५ ग्राम (आधा चिया चम्चा) सर्जिकाक्षार (Natron) १ लिटर पानीमा मिलाउने । यसले काँक्रो र स्याउको खराने रोग नियन्त्रण गर्दछ । तर यो रोग लाग्न सक्ने अवस्थामा हरेक १० दिनको फरकमा प्रयोग गर्दै जानु पर्छ रोग लाग्नै नदिनका लागि । रोग लागि सकेपछि प्रयोग गर्दा खासै फाइदा हुँदैन । निमको धुलो ३०–५० ग्राम/ली. पानीमा १०– १५ घण्टा भिजाएर छरेमा धेरै प्रकारका हानिकारक कीराहरूको व्यवस्थापन हुन्छ ।
६. पिर्रे घाँस (Lemon grass) :
यसले तरकारी बालीमा किटाणुका कारणले लाग्ने डढुवा (Bacterial blight) रोगको नियन्त्रणमा सहयोग पुर्याउँछ । त्यस्तै ढुसीका कारणले हुने आलु र गोलभेडाको डढुवा रोगलाई पनि नियन्त्रण गरेको पाइएको छ ।
७. काँचोपात र साबुनको झोल :
२५० ग्राम जति काँचोपातलाई काटेर २४ घण्टा भिजाउने वा आधा घण्टाजति पकाउने । त्यसमा ३० ग्राम जति साबुनको टुक्रा राख्ने र राम्ररी घोल्ने । त्यो मिश्रण १ भागमा ४ भाग पानी मिलाएर कम्तिमा ३ पटक छरेमा झुसिले कीरा, खपटे कीरा, लाही, पतेरा, फेद कटुवा जस्ता किराको व्यवस्थापन गर्न सकिन्छ ।
८. गोदावरी फूल :
यो फूलमा पाइरेथ्रोइड्स– साइनेरिन भन्ने कीरा मार्ने पदार्थ पाइन्छ । यसले विभिन्न बालीमा लाग्ने कीराहरू नियन्त्रण गर्न मद्दत गर्दछ ।
९. सिस्नो :
१ के.जी. डाँठ र पात थिचेर २४ घण्टा ८–९ लि. पानीमा भिजाएर छरेमा लाही, पुतलीका लार्भा आदि कीराहरू व्यवस्थापन गर्न सकिन्छ ।
१०. असुरो :
२०० ग्राम हरियो पात प्रति ली. पानीमा १२– १५ घण्टा भिजाएर छरेमा धेरै कीराहरूको नियन्त्रण भएको पाइएको छ ।
११. केतुकी वा रामवास :
१ भाग पात थिचेर ५ भाग पानीमा केही समय भिजाएर छरेमा लाही, लार्भा आदिको व्यवस्थापन भएको पाइएको छ । यो छरेको ४–५ दिनसम्म बाली टिप्नु हुँदैन ।
१२. तितेपाती :
१०० ग्राम पात थिचेर १ लि. पानीमा १२–१५ घण्टा भिजाई छरेमा रातो खपटे कीराको व्यवस्थापन भएको पाइएको छ ।
१३. मेवाको पात :
मेवाको पातको झोल बनाएर छरेमा ढुसीनाशक विषादीको काम गरेको पाइएको छ । यसले सेतो धुले ढुसी रोगको व्यवस्थापन गरेको पाइएको छ ।
१४. गोलभेंडाको पात :
गोलभेंडाको पात थिचेर १ के.जी.मा १ लि. पानी हाली तातो पानीमा ५ घण्टा डुबाएर राख्ने र छानेर छरेमा बन्दा र आलुको पुतलीको व्यवस्थापन हुन्छ ।
१५. पुदिना र तितेपाती :
१०० ग्राम पुदिना, १०० ग्राम तितेपाती थिचेर १ लि. पानीमा डुबाई मोलेर छान्ने र त्यो झोल छरेमा झुसिल्कीराको व्यवस्थापन गर्न सकिन्छ ।
१६. सुर्ति/काँचोपात :
सुर्तिको पात र डाँठ १ के.जी. १५ लि. पानीमा २४ घण्टा भिजाएर छान्ने र त्यसमा १ मुठी धुलो साबुन हाली छरेमा धेरै कीराको नियन्त्रण गर्दछ ।
१७. गन्धेझार :
२०० ग्राम गन्धेझारको फूल प्रति लि. पानीमा १२–१५ घण्टा भिजाएर छरेमा पनि विभिन्न कीराहरूको व्यवस्थापन हुन्छ ।
१८. प्याज :
५० ग्राम प्याज एक लिटर पानीका दरले मिलाई पानीमा थिच्ने वा कुट्ने (Crushed) र त्यसलाई बेस्सरी घोल्ने, त्यसपछि मसिनो कपडाले छानेर छर्ने । यसले बन्दाको थोप्ले रोग (Alternaria tenuis), (Colletotrichum spp.), तरकारी बालीको फेंद कुहिएर ओइलाउने रोग (Fusarium spp.), गहुँको थोप्ले डढुवा रोग (Helminthosporium spp.) आदिको नियन्त्रण गर्दछ ।
१९.लसुन :
लसुनको गन्धको कारण गभारो, लाही कीरा, सुलसुलेहरू, आलुको पुतली, वायरवर्म, सेतो झिँगा, प्याजको थ्रिप्स, फौजी कीरा आदि कम भएको पाइएको छ । १०० ग्राम मसिनोसँग काटिएको लसुन २ चम्चा खनिज तेलमा २४ घण्टासम्म भिजाउने । त्यसमा १० ग्राम लुगा धुने सोडा र आधा लिटर पानी राखेर घोल्ने अनि छान्ने । छानिसकेपछि झोललाई काँचको भाँडामा अँध्यारो ठाँउ वा फ्रिजमा राख्ने वा तुरुन्तै छर्ने गर्नुपर्दछ । छर्नको लागि १ भाग विषादिमा २० भाग पानी मिसाउनुपर्छ ।
२०. हलेदो :
२ किलो राम्ररी पिनेको हलेदो (बेसार) र ८ किलो खरानी राम्ररी मिसाएर बिहान शीत भएको बेला बालीमा छर्किएमा खराने रोग नियन्त्रण गर्दछ ।
२१. हलेदो र लसुनको प्रयोग :
एक किलो हलेदो र ५ वटा लसुनका पोटी राम्रोसँग पिन्ने र ५ गिलास पानीमा मिलाई हल्कासँग उमाल्ने र त्यसलाई सेलाउन दिने । यसमा अलिकति सल्फर (गन्धक) मिसाउने र दुई दिनसम्म राखी दिने । त्यसपछि छान्ने र बालीमा प्रयोग गर्ने । प्रयोग गर्दा आधा गिलास झोल १० लिटर पानीमा मिलाउने र एकदेखि दुइ हप्ताको फरकमा छर्दै जाने । यसले धेरै प्रकारका ढुसीजन्य रोगहरूलाई नियन्त्रण गर्दछ ।
२२. बोझोको टुक्रा वा टिमुर भण्डारणमा राख्नाले पनि भण्डारणका लाग्ने पुतली वा घुनलाई कम गर्न सकिन्छ ।
त्यस्तै यी बाहेक, विभिन्न वोट बिरुवाहरूको रसादी (Plant extract or Aqueous extract), विषाणु (Virus) को वृद्धि निरोधक (Growth Inhibitor) को रुपमा पाइएको छ । जसमा सुगन्धराज वा रजनीगन्धा (Paplianthus tuberosa), अश्वगन्धा (Withania somnifera), रातीगेडी वा आँखीगेडी (Arbus precatorious) आदि वनस्पतिहरू विषाणु खास गरी सुर्तीको मोज्याक भाइरस (TMV) को वृद्धि र विकासमा अवरोध खडा गर्न शत प्रतिशत प्रभावकारी पाइएको छ ।
निश्कर्षः
हाम्रा बालीहरूमा थोरै मात्रामा रोग किरा देखिएमा भौतिक—यान्त्रिक तथा जैविक विधिद्वारा व्यवस्थापन गर्ने र आर्थिक रूपमा बढी नै क्षति गर्ने जस्तो देखिएमा हाम्रै वरिपरि पाइने वनस्पतिहरूलाई विषादीको रूपमा प्रयोग गरी रोग किराको व्यवस्थापन गर्न सकिन्छ । यो तरिका विभिन्न बालीका शत्रुहरूको वातावरण मैत्री हिसाबले व्यवस्थापन गरी स्वस्थ उत्पादन लिनको लागि अत्यन्तै महत्वपूर्ण र अपरिहार्य देखिन्छ । त्यसकारण यी घरेलु वनस्पतिको प्रयोग र महत्वलाई हरेक किसानसम्म पुर्याउन सकेमा बालीका शत्रुहरूबाट हुने नोक्सानी तथा विषादीको जथाभावी प्रयोगबाट हुने दुर्घटनालाई धेरै हदसम्म कम गर्न सकिने देखिन्छ ।