लमजुङ। निगालोको टुसाबाट आम्दानी राम्रो हुने भएपछि जिल्लाको उत्तरी तथा पुर्वी ग्रामीण भेगका बासिन्दालाई अहिले भ्याइनभ्याइ छ ।
वर्षायामको अन्त्यतिर जङ्गलमा पाइने निगालोको टुसाको माग धेरैभएकाले टिप्न र बिक्री गर्न उनीहरुलाई हतारो भएको हो ।
गाउँबाट ल्याएको टुसा बिक्री गर्न कुनै कोठा या ठेला भाडामा लिनै नपर्ने डोकामा ल्याउँदै गर्दा बाटोमै सकिने हुँदा सदरमुकाम बेसीशहरसम्म पनि नआइपुग्दै टुसा सकिएर फर्किनुपरेको विक्रेताहरुको भनाइ ।
“टाढाबाट ल्याउनुपर्छ, डोकोभरी ल्यायो बाटोमै सकिन्छ” टुसा बिक्रेता काशी गुरुङ भन्नुहुन्छ– “कतिपय चिनेजानेकाको मन राख्न पनि मुस्किल भएको छ ।” बजारका व्यापारीले एकैचोटी खरिद गर्न चाहे पनि व्यापारीसम्म पनि पुग्न पाइएको छैन ।
बजारमा ल्याउने बित्तिकै एकैछिनमा टुसा बिक्री हुने हुनाले स्थानीय व्यापारीले चाहेर पनि यसको व्यापार गर्न सकेका छैनन् । “ल्याउँदा ल्याउँदै बाटोमै सकिन्छ, हामीले के व्यापार गर्नु ?” तरकारी व्यवसायी विसन श्रेष्ठ भन्नुहुन्छ– “यो याममा व्यापार हुने भनेकै टुसा हो त्यो हामीकहाँ आइपुग्नु भन्दा अघिनै खुद्रा ग्राहकले छोपिसक्छन।”
सहरी क्षेत्रमा टुसाको अत्याधिक माग भएकोले टुसा भाँच्न ग्रामीण भेगका बासिन्दाको जङ्गलमा यतिबेला भीड नै लाग्ने गर्दछ । दुईहजारदेखि चार हजार मिटर उचाइका भिरमा पाइने निगालोको टुसा ग्रामीण भेगका बसिन्दाका लागि आम्दानीको राम्रो स्रोत बनेको छ ।
अहिले बेसीशहर लगायतका बजारमा आउने टुसा करिब १६ सय मिटरदेखि तीन हजार मिटरसम्मको उचाइमै पाइन्छ । टुसा भाँच्नका लागि खर्क/खर्कमा रहेका गोठमा अहिले गाउँका सर्वसाधारणको भीड लागेको छ । गोठमा जाने भनेर गएका कतिपय भने गोठमा नअटेपछि ओडारमा समेत रात बिताउन बाध्य छन् ।
अधिकांशले टुसा मनपराउन थालेकाले अहिले यसको व्यापार पनि लमजुङमा फस्टाउँदै गएको हो ।
बाहिरबाट आएका पर्यटक या अन्य पाहुना प्रायले टुसाको तरकारी मनपराउने होटल व्यवसायी बताउँछन् । “पाहुना टुसाको तरकारी चाहान्छन्, हाम्रो परिवारमा पनि सबैलाई टुसा मनपर्ने हुँदा प्राय यो याममा टुसाकै तरकारी बनाउछौँ,” बेसीशहरका होटल व्यवसायी आशबहादुर गुरुङ भन्नुहन्छ– “पाहुना पनि माछा मासु भन्दा टुसा रोज्ने गर्छन । ”
गत वर्ष ४० रुपैयाँदेखि ५०।–सम्मा बिक्री भएको टुसा यसवर्ष लमजुङमा ६० रुपैयाँदेखि ७०।सम्ममा बिक्री भएको छ । टुसाको बिक्रीबाट नजिकिँदो दसैँमा खर्चको जोहो समेत हुने टुसा व्यापारी बताउँछन् ।
लमजुङको ‘टुसा’ भारत र खाडी मुलुकबाट माग हुने आउने गरेको छ । तर माग भएपनि स्थानीय बजारमा पु¥याउन मुस्किल परेकाले विदेश पठाउन नसकिएको उनीहरुको भनाइ छ ।
उत्तरी लमजुङको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापको संरक्षण क्षेत्रभित्र पर्ने भुजुङ, उत्तरकन्या, सिम्पानी, खुदी, घनपोखराका एकजनाले दैनिक पाँचसयदेखि एक हजारसम्मको टुसा भाँच्ने गर्दछन् ।
भुलभुले, उस्ता, बन्सार, घेर्मु, जगत र उत्तरपश्चिम लमजुङको भुजुङ, पसगाउँ, घनपोखरालगायत गाविसका जङ्गलमा पनि टुसा प्रशस्त मात्रामा पाइन्छ । प्रायःगरेर वर्षायाममा जेठदखि असोज महिनासम्म जङ्गलमा टुसा उम्रिन्छ ।
कानुनतः ‘टुसा’ सङ्कलन र निकासी गर्न पाइँदैन । यसैलाई आधार बनाएर अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) र सामुदायिक वनले बेलाबेलामा अवैध वनस्पतिको ओसारपसार र बिक्री वितरणमा रोक लगाए पनि सङ्कलनकर्ता घट्नुको सट्टा झन बढेका छन् ।