बागलुङ। जिल्लाको बुर्तिवाङ क्षेत्रमा पाइने बहुउपयोगी फल चिउरी सीप, प्रविधिको अभाव हुँदा प्रयोगमा आउन नसकी त्यसै खेर गएको छ ।

परम्परागत हिसावले घिउ बनाउने चलन पनि अहिले हटेकोले मुल्यवान वस्तु माटोमा कुहिएर गएको सीमलचौर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष डम्बरबहादुर केसीले बताउनुभयो ।

दगातुम्डाँडा, बुर्तिवाङ, खुङ्गालगायतका गाविसमा चिउरी ठूलो मात्रामा पाइन्छ । काठ, घाँस, फलफूलका हिसावले पनि चिउरी ‘बहुउपयोगी’को रुपमा पर्छ ।

चिउरीको फल खानको लागि स्वादिष्ट मानिने चिउरी वर्षेनी फल्ने गरेको छ । फलभित्र पाइने बियाँबाट आउने घिउ महँगो मुल्यमा बिक्री हुने , साबन, श्रृङ्गारका सामानमा प्रयोग हुने कच्चापदार्थ, आयुर्वेदिक औषधि बनाउन सकिने सामुदायिक वन उपभोक्ता महासङ्घ, बागलुङका अध्यक्ष प्रेम लामिछानेले बताउनुभयो ।

उहाँले सामुदायिक वनमा चिउरी प्रशस्त रहेपनि त्यसको सही सदुपयोग हुन नसकेको उल्लेख गर्नुभयो । ‘चिउरीलाई व्यावसायिक बनाउन सकिएको छैन, उपर्युत्त प्रविधि, सीप, किसानलाई दिन सकिएको छैन’ अध्यक्ष लामिछानेले भन्नुभयो ।

दगातुम्डाँडामा भने केही वर्षअघिदेखि चिउरीबाट बन्ने सावन उद्योग सञ्चालनमा आएको छ । कृषि वन वातावरण समिति बुर्तिवाङका अध्यक्ष धनबहादुर खत्रीले लाखौँ मुल्यको चिउरी त्यसै नष्ट भएर गएको बताउनुभयो ।

उहाँका अनुसार पहिलेजस्तो रुखबाट चिउरी टिप्न पनि छोडिएको छ । ‘टाढा–टाढाबाट आएर चिउरी टिप्ने भीड लाग्थ्यो, अहिले झरेर खेर गइरहेको छ’ अध्यक्ष खत्रीले भन्नुभयो ‘बुढापाकाले घिउ बनाउने गर्थे, त्यो पनि गर्न छोडिएको छ ।’

चिउरीबाट बनेको घिउ रोटी, तरकारीमा प्रयोग, चोटपटकको घाउ निको पार्नसमेत प्रयोग हुनेगर्छ । चिउरी काठ र घाँसको लागि अति उपयुक्त मानिने महासङ्घका अध्यक्ष लामिछानेले बताउनुभयो । ‘चिउरी बहुउपयोगी रुखमा पर्छ, चिउरीका फूल माहुरीपालनका लागि उत्तम मानिन्छ’ अध्यक्ष लामिछानेले भन्नुभयो ।

बागलुङमा प्रयाप्त मात्रामा चिउरी रहेपनि त्यसको उपयोग हुन नसकेको उहाँको भनाइ छ । प्रशोधन उपकरणहरु जडान गरेर चिउरीलाई व्यावसायीकरण गर्न सके जिविकोपार्जनमा सुधार ल्याउन सकिने छ ।