धनकुटा।  राष्ट्रिय सुन्तला जात अनुसन्धान कार्यक्रम पारिपात्ले धनकुटाले तराईका लागि कागतीका २ नयाँ जात सिफारिस गरेको छ । ६ वर्ष लामो अनुसन्धानपछि केन्द्रले तराईमा व्यावसायिक खेती गर्न सकिने एनसी आरपी ४९ र एनसी आरपी ५५ जातका नयाँ कागती सिफारिस गरेको हो । ३ वर्षयता झापा, मोरङ, सुनसरी र चितवन जिल्लामा कागतीका स्थानीय जातको व्यावसायिक खेती सुरु भएको छ । सुन कागती १ र २ नाम दिइएका दुवै जातबाट तराई र भित्री मधेसदेखि समुद्र सतहबाट ५ सय मिटरसम्मको उचाइमा व्यावसायिक उत्पादन लिन सकिने कृषि वैज्ञानिकहरूले बताएका छन् ।

सुन कागती १ बाट प्रतिहेक्टर ३४ र सुन कागती २ बाट २४ देखि २६ मेटि्रकटनसम्म उत्पादन लिन सकिने वैज्ञानिक मनीषकुमार ठाकुरले बताए । बोटको औसत उचाइ ३ मिटर र फैलावट धेरै नहुने भएकाले थोरै जमिनमा पनि यसको व्यावसायिक खेती सपि्रने उनले जनाए । यो वर्ष निजी र सरकारी नर्सरीबाट दुवै जातका २५ हजार बिरुवा दिन सकिने केन्द्रको आँकलन छ । उनले भने, ‘दुवै जातका कागती पानी निकास भएको तराईको जमिनमा प्रतिकठ्ठा १५ देखि १८ वटा बोट लगाउन सकिन्छ ।’
अन्य जातको भन्दा खडेरी सहन सक्ने भएकाले सुख्खाले पनि खासै असर नगर्ने उनले बताए । नेपालमा उत्पादन अवधि एकदमै छोटो भएकाले मुख्य उत्पादन हुने मौसममा पनि ९० प्रतिशत बजार भारतीय कागतीले लिन्छ । ठाकुरले भने, ‘तराईको जमिनलाई कागती पकेट क्षेत्र बनाएर उत्पादन लिन सके लाजमर्दो अवस्था अन्त्य गरी हामी आफैं आत्मनिर्भर हुन सक्छौं ।’ यसले रोपेको ३ वर्षदेखि उत्पादन दिन्छ। कागती लगाउने मुख्य सिजन जेठ र असार हो । माघ-फागुनमा फुल्ने कलमी बिरुवाको फल असार-साउनमा टिप्न तयार हुन्छ । वयस्क बोटले ८ सय १३ दानासम्म फल दिन्छ । ४८ प्रतिशतसम्म रसको मात्रा हुने यो जातमा एसिड ८ प्रतिशत हुन्छ । वैज्ञानिक ठाकुरका अनुसार पाकेको फल कोठाभित्रको तापक्रममा १५ दिनसम्म भण्डार गर्दा बिग्रँदैन ।
सिफारिस गरिएको नयाँ जातमा अन्य कागतीमा झैं केंङकर रोगको प्रकोप नहुने वैज्ञानिकहरूको दाबी छ । केन्द्रले मध्यपहाडी आवहवामा लाग्ने एनसी आरपी १०७ अर्थात् तेह्रथुम लोकलको पनि सफल अनुसन्धानपछि सिफारिस गरेको छ । यसबाट कात्तिकदेखि पुसमहिनासम्म उत्पादन लिन सकिन्छ । नेपालमा तराई र मध्यपहाड गरी ५ हजार ९ सय ४२ हेक्टर जमिनमा कागतिको व्यावसायिक खेती हँुदै आएको छ ।