गाँजरमा उच्चमात्रामा बेटा क्यारोटिन पाइन्छ । यसका साथै भिटामिन ए, मिनरल्स र एन्टिअक्सिडेन्ट पनि पाइन्छ । यो आँखा, छाला, पाचन प्रणाली र दाँतका लागि लाभदायी हुन्छ । यसमा अत्यन्त न्युन मात्रामा क्यालोरी पाइन्छ भने चिल्लो पदार्थ शुन्य हुन्छ ।

गाँजरका फाइदाहरु :

रतन्धो हुनबाट बचाउछ : गाँजर खानु आँखाको स्वास्थ्यका लागि लाभदायी हुन्छ । यसमा भएको बेटा क्यारोटिन कलेजोमा भिटामिन ए मा परिवर्तन हुन्छ । यसले रतन्धो हुनबाट समेत बचाउछ ।

मुटुको रक्षा गर्छ  : गाँजरमा विभिन्न प्रकारका एन्टिअक्सिडेन्ट र पोलासिटाइलनेस भन्ने तत्व पाइन्छन्, जसले मुटुको कवचको काम गर्छ । अध्ययनहरुबाट गाँजरमा भएका यस्ता तत्व खानाले मुटु रोग लाग्ने खतरा कम हुने देखाएका छन् । उच्च मात्रामा बेटा क्यारोटिनका अतिरिक्त गाँजरमा अल्फाक्यारोटिन र ल्युटन पाइन्छन् । यसले खराब कोलस्टेरोललाई पनि हटाउछ । यहीकारण हृदयाघात हुने सम्भावना पनि रहँदैंन ।

क्यान्सर लाग्नबाट बचाउछ : गाँजर खानाले फोक्सो, स्तन तथा कोलोन क्यान्सर लाग्नबाट बचाउछ । गाँजरमा भएको पोलि–अक्टिलाइन एन्टिअक्सिडेन्ट र फाल्कारिनोल भन्ने तत्वका कारण यस्तो भएको हो । यी तत्वले क्यान्सर लगाउने कोषलाई नष्ट पार्छ ।

रोगप्रतिरोधी क्षमतामा वृद्धि गर्छ : गाँजरमा भएका विभिन्न खालका पोषक तत्व र भिटामिन सी सहितको एन्टिअक्सिडेन्टले रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ ।

दाँतका लागि लाभदायी : यसले दाँतका लागि टुथब्रस र टुथपेष्टजस्तै काम गर्छ । गिजा बलियो बनाउछ र थुप्रै मात्रामा र्याल उत्पादनमा सहयोग गर्छ, यस्तो र्यालले दाँतमा एसिड उत्पादन र सडनबाट उत्पादनबाट हुने ब्याक्टेरिया हटाउन अल्कालाइनको काम गर्छ । गाँजरमा हुने खनिज तत्वले मुख र दाँतको सडनका लागि जिम्मेवार किटाणुलाई मार्न सहयोग गर्छ ।

बुढोपन रोक्छ : यसमा भएको बेटा क्यारोटिनले एन्टिअक्सिडेन्टको काम गर्छ, जसले शरीरका कोषहरुको क्षति हुनबाट बचाउछ । जसले गर्दा मानिस चाँडै बुढो हुँदैंन ।

महिलाको महिनावारीमा लाभदायी : गाँजरको जुस महिलाका लागि निकै लाभदायी हुन्छ । यसमा भएको फाइटोएस्ट्रोजनले महिनावारीमा हुने पीडाबाट मुक्ति दिलाउछ र बढी रक्तस्राव हुनबाट जोगाउछ । यसले महिनावारीसंबन्धी अन्य समस्या पनि हटाउछ ।

हड्डी मजबूत पार्छ : गाँजरमा हुने क्याल्सियमले महिला तथा केटाकेटीको हड्डीको विकासमा सहयोग गर्छ ।

पाचन प्रणालीमा सुधार ल्याउछ : गाँजर फाइबरको महत्वपूर्ण स्रोत हो । यसले खाना राम्रोसंग पच्न मद्दत गरी दिसालाई नियमित बनाउछ ।कब्जियत हटाउछ ।

ब्लड सुगर नियमित गर्छ : गाँजरमा उच्चमात्रामा पाइने क्यारोटेनोइड्सले ब्लड सुगरलाई नियमित पार्छ । यसमा पाइने अल्कालाइन तत्वले रगतलाई शुद्ध पार्छ र शरीरमा एसिड अल्कालाइनको दरलाई सन्तुलित राख्छ । यसमा पाइने पोटासियमले सोडियमलाई सन्तुलनमा राख्छ ।

छाला चम्किलो पार्छ : भिटामिन सि र एन्टिअक्सिडेन्टयुक्त हुने भएकाले गाँजरको नियमित सेवनले छालालाई स्वस्थ र चम्किलो पार्छ । छाला चम्काउन गाजरको पेष्टमा मह मिसाइ फेस मास्कका रुपमा प्रयोग गर्न सकिन्छ । यस्तै, गाँजरको जुसले छालामा भएका धब्बाहरु हटाउन मद्दत गर्छ ।