पोखरा। कफीको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने र कफी व्यवसायलाई प्रवद्र्धन गर्न उद्देश्यका साथ पोखरामा अन्तराष्ट्रिय मान्यता प्राप्त वैज्ञानिक प्रविधियुक्त कफी एकेडेमी अफ एक्सलेन्स नेपाल सञ्चालनमा आएको छ । सो एकेडेमीको विहिबार राष्ट्रिय चिया तथा कफी बोर्ड केन्द्रिय कार्यालयका निमित्त कार्याकारी प्रमुख दिपक खनालले उद्घाटन गरे ।

खनालले नेपालमा कफीको निकै राम्रो सम्भावना भए पनि यो क्षेत्र व्यापक रुपमा विस्तार हुन नसकेको बताए । कफीमा आत्मनिर्र्भर भएर विदेश निर्यात गर्न सक्ने सम्भावना प्रशस्त भएपनि यस क्षेत्रप्रति सरोकारवालाको चासो बढ्न नसकेको उहाँको भनाइ थियो । नेपाली बजारको मागलाई समेत नेपाली कफिले धान्न नसकेको र पछिल्लो समय वार्षिक १२ सय ६१ मेट्रिक कफि आयात भएको उनको भनाइ थियो । कफिको व्यवसायीकता र कफिका लागि दक्ष जनशक्ति उत्पादन गर्न एकेडेमीले भूमिका खेल्ने उनको विश्वास थियो ।

कार्यक्रममा जिल्ला कफी व्यवसायी संघका अध्यक्ष एवं कफी कृषक विश्वबन्धु पोखरेलले पछिल्लो समय कफी प्रति धेरै किसानको रुचि बढ्दै गएको भन्दै व्यवसायिकता तर्फ उन्मुख भएको धारणा राखे । उनले संभावना प्रशस्त भएकाले युवालाई समेत कफी कृषितिर आर्कषण गर्नुपर्ने उनको भनाइ थियो ।

एकेडेमीका सञ्चालक एवं कफि व्यवसायी महासंघका केन्द्रिय सदस्य सरोज श्रेष्ठले समयको माग अनुसार अन्तराष्टिय मान्यता प्राप्त गुणस्तर सेवा प्रदान गर्ने गरी कृषि पर्यटन प्रवद्र्धन गर्ने गरी एकेडेमी सञ्चालनमा ल्याएको जानकारी दिए ।
कफी विज्ञ एवं प्राविधिक सल्लाहकार भोला कुमार श्रेष्ठले नेपालमा उत्पादित कफी अन्तराष्ट्रिय रुपमा उच्च स्तरको पाइए पनि नेपालमा कफी उत्पादन बढ्न नसकेको बताए । उनले भने “माग बढी छ तर उत्पादन बढ्न सकेको छैन । हामीले उत्पादन वृद्धि गरेर गुणस्तर कायम गर्न सक्यौ भने कफीबाटै आत्मनिर्भर बन्छौ ।”

कार्यक्रम कफी व्यवसायी महासंघका संस्थापक अध्यक्ष ढकेश्वर घिमिरे नेपालमा पछिल्लो समय कफी संस्कृतिको विकास हुँदै गएको बताए । अन्तराष्ट्रिय परीक्षणले नेपालको कफी विश्व बजारमा समेत उच्चस्तरको मानिएसँगै नेपाली कफीको माग दिनप्रतिदिन बढेको उनको भनाइ थियो ।

कफि विज्ञ टोड आर्नेटले नेपाल कफीको उर्वर भूमि भएको बताए । सरोकारवालासँग सहकार्य र समन्वयबाट कफी उत्पादन बढाउन सके छिटटै कफी आयात घट्ने सक्ने उनको विश्वास थियो । पछिल्लो तथ्याङ्क अनुसार नेपाली बजारमा वार्षिक १२६१ मेट्रिक टन कफि आयात भएको छ भने उत्पादन पाँचसय १३ मेट्रिक टन मात्रै छ । निर्यात भने झण्डै १ सय मेट्रिक टन मात्रै रहेको देखिन्छ ।

महासंघका सचिव एवं एकेडेमीका अध्यक्ष सन्तोष पोखरेलले नेपाली बजारमा कफीको माग बढ्दै गएकाले यसलाई व्यसायिक रुपबाट गति दिन एकेडेमी संचालनमा ल्याएको जानकारी दिए । उनले नेपालमा कफी कल्चरको विकास भएकाले अब कफीको अर्गानीक स्वादलाई सहज रुपमा विकाउन सकिने धारणा राखे । उनले भने“हामी अन्तराष्ट्रिय जगत भन्दा पहिला आफ्नै देशमा कफीको स्वादलाई विकाउन चाहान्छौ । नेपालमा जुन मात्रामा कफी आयात भएको छ यसलाई विस्थापन गर्न अर्गानीक कफीको उत्पादन बढाएर जानुपर्छ ।” अमेरिकाको विलियम्शवर्ग एकेडेमीसँगको सम्बन्धन र सहकार्यमा एकेडेमी सञ्चालनमा आएको बताए ।

उनले कफीको मुल्य श्रृखंला अनुरुप विभिन्न चरणमा आवश्यक पर्ने नर्सरी, बोटविरुवा, वगैचा व्यवस्थापन, उत्पादन, प्रशोधन, बजारीकरण र गुणस्तर प्रमाणीकरण जस्ता कार्यमा आवश्यक पर्ने कार्यलाई सहज र सुलभ ढंगले व्यवस्थापन गर्दै तालिम एवं परामर्श एकेडेमीबाट हुने जानकारी दिए ।