खोटाङ। साकेला गाउँपालिका–३ खिदिमामा चियाका बेर्ना उत्पादन सुरू गरिएको छ । कृषि पर्यटनको विकास गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको गाउँपालिकाले लेकाली क्षेत्रका खाली जग्गा र नाङ्गो पाखामा व्यावसायिक चियाखेती विस्तार गर्न बेर्ना उत्पादन सुरू गरेको हो ।

गाउँपालिकाको २ लाख रुपैयाँ र थामडाँडा–टेम्के–सिलिचुङ (टीटीएस) कृषि सहकारी संस्था भोजपुरको ३ लाख ४५ हजार रुपैयाँ लगानीमा काल्छिङ खोला चिया उत्पादक कृषि समूहले बेर्ना उत्पादन सुरू गरेको कृषि शाखा प्रमुख गणेश राईले बताए ।

कृषि समूहले गत भदौमा १ लाख ५ हजार रुपैयाँको चियाका बिरुवा लगाएको छ । गाउँपालिकाको टेम्केडाँडा, तावाभञ्ज्याङ, डम्बरेटार, भुस्याहाडाँडा, सेल्मेलगायतका खाली जग्गामा चियाखेतीको राम्रो सम्भावना देखिएकाले व्यावसायिक खेती विस्तारको काम थालिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्काले बताए ।

काल्छिङ खोला चिया उत्पादक कृषि समूहले चियाको बेर्ना उत्पादन गर्न ५० वर्षका लागि ५० रोपनी जग्गा भाडामा लिएको जनाइएको छ । कृषि समूहले क्रमशः क्रमागत रूपमा चियाको नर्सरी उत्पादनको मात्रा पनि वृद्धि गर्दै जाने जनाएको छ । हाल लगाइएको बेर्ना १ वर्षदेखि १८ महिनासम्ममा रोप्न योग्य हुने र तोकिएको क्षेत्रमा लगेर रोप्न थालिने जनाइएको छ ।

चियाको बेर्ना परिपक्व भएपछि कृषि समूहमा आवद्ध किसानले आ–आफ्नो खाली र नाङ्गो जग्गामा लगेर रोप्न सुरू गर्नेछन् । चिया बगानका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै कन्यामलाई झैं पर्यटकको गन्तव्यस्थलका रूपमा विकास गर्ने गाउँपालिकाको योजना छ ।

कृषक समूहले लगाएको बेर्ना तयार भएपछि खिदिमाका सयौं रोपनी जग्गामा चियाको ब्लक निर्माण गरिने गाउँपालिका प्रमुख खड्काले बताए । बेर्ना रोपेको तीनदेखि पाँच वर्षपछि चिया टिप्न योग्य बन्ने कृषि शाखा प्रमुख राईले जानकारी दिए । गाउँपालिकाले खिदिमापछि बाँझेच्यानडाँडामा पनि चियाको ब्लक निर्माण गर्ने लक्ष्य लिएको छ ।