ललितपुर। तरकारी स्वदिलो बनाउन प्रयोग गरिने प्याजको भाउ पाँच महिनाको बीचमा झन्डै ५ गुणाले महँगिएको छ।

पाँच महिना पहिले वैशाखमा प्रतिकेजी २५ रुपियाँ थोक मूल्यमा किनबेच भइरहेको प्याज अहिले बढेर १ सय ५ रुपियाँ थोकमै कारोबार भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार व्यवस्था समितिका अनुसार गएको वैशाखमा प्रतिकेजी २५ रुपियाँमा थोकमा कारोबार भएको प्याज पाँच महिनाको बीचमा बढेर १ सय देखि १ सय ५ रुपियाँ थोकमा किनबेच भइरहेको छ ।

कालीमाटी बजारमै खुद्रा प्याजको प्रतिकेजी १ सय १० रुपियाँमा किनबेच भइरहेको छ । जबकि पाँच महिना अगाडि सोही बजारमा ३५ रुपियाँ खुद्रा मूल्यमा प्याजको किनबेच भएको थियो ।

भारतमै बढ्यो प्याजको मूल्य :

लगातारको वर्षाको कारण भारतमा प्याजको मुल्यमा भारी बृद्धि भएको छ । महाराष्ट्र, राजस्थान र मध्य प्रदेशलगायतमा प्याजको मुल्यमा भारी बृद्धि भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ ।

भारतमा प्याजको मुल्य बढेसंगै सिधै असर नेपाली बजारमा परेको हो। बिहीवार मात्रै भारतमा प्याज प्रतिक्वीन्टर १६ सय रुपैयाले बृद्धि भएको छ । यो मुल्य चार वर्ष यताको उच्च हो । भारतकै सवैभन्दा ठूलो प्याजको अनलाइन मार्केट लासलगांव एपीएमसीका अनुसार प्रतिक्विन्टर १६ सयले बृद्धि भएपछि अहिले भारतमा प्याज प्रतिक्विन्टर ६ हजार रुपैंयामा बिक्री हुन थालेको छ ।

भारतीय मिडियाले उल्लेख गरे अनुसार यसपाली वर्षाका कारण कर्नाटक र आन्ध्र प्रदेशमा प्याज उत्पादन हुन सकेन । भारतका धेरै जसो स्थानमा लासलगांव एपीएमसीले प्याज बिक्री गर्दै आएको छ ।