ब्ल्याक अस्ट्रालोप कुखुरा निक्खर चम्किलो कालो रङ्गको हुन्छ । यो पनि कृषकमाझ अत्याधिक लोकप्रिय रहेको छ । यो कुखुरा भने अष्ट्रेलियन सरकारले ब्ल्याक अरपिङ्गटन जातको कुखुराबाट छनौट गरी विकास गरेको हो । अहिलेसम्म कुनै प्रकारको वर्णशङ्कर उत्पादन नभएकाले यो पनि शुद्ध जात हो । यसका भाले तथा पोथी कालो रङ्गको हुने भएकाले उपभोक्ताहरु यिनलाई लेयर्स वा गिरीराज कुखुरा भनेर झुक्किँदैनन् । यसका अन्य विशेषताहरु देहायबमोजिम छन् :

विशेषताहरुः
२०–२५ वर्ष अगाडिसम्म सरकारी फार्महरुमा वयस्क भालेको तौल साढे तीनदेखि चार किलो तथा वयस्क पोथीको तौल औसतमा २.८ किलोसम्म हुने गरेको थयो । हाल आएर अत्याधिक नातेदार प्रजनन वा अन्य कारणले यसको पनि भालेको औसत तौल करिब २.७ तथा पोथीको औसत तौल २.१ किलोमा सिमित भएको छ ।

सरकारी फार्महरुको अण्डा उत्पादन रेकर्ड हेर्दा एक सय ८० देखि एक सय ९० प्रतिपोथी प्रतिवर्ष हुने गरेको छ । हाल आएर अण्डा उत्पादनमा पनि केही कमी आएको छ ।

यो कुखुरा उच्चपहाडदेखि तराईक्षेत्रसम्म पाल्न उपयुक्त हुन्छ ।

स्थानीय जातका कुखुरासँग क्रस गराई ग्रामीण क्षेत्रमा खुलारुपमा अण्डा तथा मासु दुवै उद्देश्यको लागि पाल्न सकिन्छ ।

यसको मासुको स्वाद तथा बजार निकै आकर्षक रहेको छ ।

व्यावसायिक लेयर्स र ब्रोइलर्स जातहरु तथा गिरीराज कुखुराभन्दा यसको रोग प्रतिरोधात्मक क्षमता बढी रहेको छ ।

शुद्ध कुखुरामा लगभग दस प्रतिशत तथा स्थानीय जातसँग क्रस भएका वर्णशङ्कर कुखुरामा लगभग शतप्रतिशत ९कृषकका अनुसार० नै

ओथारो बस्ने प्रवृत्ति देखिएको छ । यद्यपि वर्णशङ्कर कुखुराको ओथारो बस्ने प्रवृत्तिमाथि पर्याप्त अनुसन्धान हुनु जरुरी छ ।

स्थानीय जातसँग क्रस नगराइकन पनि अर्धसघन एवम् सघनरुपमा पालन गर्न सकिन्छ ।

यसलाई गिरीराज कुखुरालाई जस्तो गम्बोरो रोगले सताउँदैन । यसको मासु पनि गिरीराजभन्दा कम बोसो भएको र स्वादिलो हुन्छ ।