ललितपुर। ‘बिउबिजन (दोस्रो संशोधन) विधेयक, २०७५ माथि विचार गरियोस’ भन्ने प्रस्तावलाई प्रतिनिधिसभाको आइतवारको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ । बैैठकमा कृषि तथा पशुपक्षी विकासमन्त्री चक्रपाणि खनालले प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसदहरुले स्थानीय जातका बिउबिजनको संरक्षण गरिनुपर्नेमा जोड दिए । सांसद घनश्याम खतिवडाले वर्णशंकर बीउले कृषिमा दीर्घकालीन रुपमा नकारात्मक प्रभाव पारेकाले स्थानीय जातका बीउ संरक्षण गर्नुपर्ने बताए ।

‘पहिले काँक्रोको बीउ संरक्षणका लागि बियाँ भित्तामा टाँसेर राखिन्थ्यो, अर्को वर्ष रोप्ने बेलामा उप्काइन्थ्यो, यस्ता मौलिक बीउ संरक्षणका लागि अपनाउनुपर्छ, बहुराष्ट्रिय कम्पनीका बीउले नराम्रो प्रभाव पारेको छ’, उनले भने । सांसद अमनलाल मोदीेले वर्णशंकर एवं रासायनिक पदार्थको अत्यधिक प्रयोगले प्रकृति संरक्षण, युवा अवस्थामै रोगले आयु घट्ने, क्यान्सरजस्ता रोग बढ्न थालेकाले स्थानीय जातकै बीउ संरक्षण गर्नुपर्ने बताए ।

सांसद रामबाबुकुमार यादवले नेपालको हावापानी सुहाउँदो बीउ संरक्षण गर्ने नीति लिन माग गरे । सांसद गौरीशंकर चौधरी, महेश्वरजंग गहतराज, रेणुका गुरुङ, मनकुमारी जिसी, पवित्रा निरौला, प्रेम सुवाल, नवराज सिलवाल, चन्द्रकान्त चौधरी, पद्मनारायण चौधरी र अमरेशकुमार सिंहले स्थानीय जातका बीउको संरक्षण गर्दै जैविक कृषि पद्धतिमा फर्कनुपर्नेमा जोड दिएक थिए ।

छलफलमा उठेका विषयलाई सम्बोधन गर्दै मन्त्री खनालले प्रांगारिक र जैविक खेतीलाई प्रवर्द्धन गर्न लागिएको बताए । सम्भव भएसम्म स्थानीय जातका बीउलाई संरक्षण गरिने उनको विचार थियो । सरकारले १८ वर्षअघि नै निषेध गरिसकेको विषादीको अवशेष देखिएको समाचार सार्वजनिक भएकाले सचेत हुनुपर्ने उनको भनाइ थियो ।