पोखरा। चार दशक अघिसम्म बाघमाराको मास र पिडालु कास्कीमा मात्र नभई असापासका जिल्लामा पनि प्रख्यात थियो । छिटै पाक्ने, स्वादिलो यहाँको मास तथा पिंडालुको माग त्यो समयमा नै हुने गर्दथ्यो ।

‘यहाँ उत्पादन हुने मासको दाल तथा पिंडालु किन्न त्यतिबेला टाढाटाढाबाट मानिस आउने गर्दथे,’ करीब ५० वर्षअघिको अनुभव सुनाउँदै ६५ वर्षीय देवीलाल आचार्यले भने । त्यो बेला यहाँको मास एक पाथीको तीन रुपैयाँमा बिक्री हुने गरेको उनले जानकारी दिए ।

झण्डै डेढ दशकयता बाघमारामा दाल तथा पिंडालुको सट्टा गोलभेंडा खेतीले किसानलाई आकर्षित गरेको छ । विसं २०४५/४६ पछि गोलभेडा खेती यहाँको विशिष्ट पहिचान नै बन्यो । यहाँको गोलभेंडा कास्की जिल्लामा मात्र नभएर स्याङ्जा, तनहूँका साथै प्रमुख शहर बुटवल, काठमाडौँलगायतका स्थानमा निर्यात हुने गरेको थियो ।

अगुवा कृषक पुष्पराज पौडेलका अनुसार गोलभेंडा उत्पादनको त्यस समयमा बाघमारामा कृषकहरूले निकै राम्रो आम्दानी गरेका थिए । गोलभेंडा खेती पनि विस्थापित बन्दै गएपछि पछिल्लो डेढ दशक यता यहाँका कृषकहरू लहरे तरकारीतर्फ आकर्षित बनेको उनले जानकारी दिए ।

झण्डै डेढ दशक देशव्यापी ख्याति कमाएको यहाँको गोलभेंडा विसं २०५५/५६ पछि क्रमशः कम हुँदै गएपछि २०६० साल यता लहरे खेतीतर्फ आकर्षण बढेको हो । लहरेखेतीतर्फको आकर्षणसँगै कृषकलाई थप प्रोत्साहित गर्न पछिल्लो समयमा सरकारी तबरबाट पनि यस क्षेत्रमा चासो दिइएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी सुपरजोन पोखराले यसै वर्षदेखि यहाँको लहरे तरकारीमा सहयोग शुरु गरेको छ ।

पौडेलका अनुसार यहाँका २१ जना कृषकले २१ रोपनी क्षेत्रफलमा लगाएको करेला, फर्सी र घिरौंलाका लागि परियोजनाअन्तर्गत पानी ट्याङ्की, मोटर, पाइप आदिमा ८५ प्रतिशत अनुदान सहयोग उपलब्ध गराइएको छ । ‘मैले करीब चार रोपनी क्षेत्रफलको जग्गामा लहरे तरकारी लगाएको छु, यतिखेर बारीमा लटरम्म करेला फलेका छन्,’ पौडेलले भने ।

यहाँबाट बिहान तीन बजेदेखि नै सवारीसाधनमा राखी तरकारी पोखरामा पुर्‍याउने व्यवस्था गरिएको छ । पछिल्ला वर्षमा मौसममा आइरहेको परिवर्तन लगायतका कारणबाट ठाउँठाउँमा खेती एकपछि अर्को गर्दै फेरिने क्रम बढेको मालेपाटन कृषि अनुसन्धान केन्द्र, पोखराका कृषि वैज्ञानिक श्यामप्रसाद पौडेलले जानकारी दिए ।