गाईघाट। वर्षाका कारण सकड भत्केर यातायात अवरुद्ध हुँदा उदयपुर क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यका आलु कुहिन थालेपछि कृषकहरु मारमा पर्न थालेका छन् ।

जिल्लाको पहाडी क्षेत्र रौतामाई गाउँपालिकाको डिल्लीबर, माझखर्क, इनामे, नामेटार र लिम्चुङबुङ गाउँपालिकाको सातदोबाटे, बराह क्षेत्रमा उत्पादन भएको करोडौं मूल्यको आलु अहिलेसम्म पनि सडक अवरुद्ध हुँदा अन्यत्र पैठारी गर्ने समस्या आएपछि कुहिन थालेको स्थानीय कृषकहरुको गुनासो छ । रौतामाई गाउँपालिका–६ माझखर्क टाट्नेका आलु उत्पादक कृषक गोम्बु शेर्पा भन्छन्, ‘वैशाख, जेठमा नै उत्पादन गरेको आलु असार लाग्ना साथ विक्री गर्ने तयारीमा रहेका थियौं, अचानक वर्षासँगै बाढी पहिरोले सडक भत्कन पुग्यो, अहिलेसम्म पनि सडक सञ्चालन हुन नसक्दा अन्यत्र विक्री गर्न लागेको आफूहरुको आलु कुहिन थाल्यो ।’

यस्तै रौतामाई इनामेका कृषक कृष्णबहादुर तामाङको पनि गुनासो यस्तै छ । उनी भन्छन्, ‘आलु बारीबाट उठाएर भर्खरै विक्री गर्ने तयारी भएको बेला सडक अवरुद्ध हुन पुग्यो, अहिलेसम्म सडक सञ्चालन हुन नसक्दा आफूहरुको आलु अहिले बिग्रन थालेको छ, तत्काल विक्री गर्नुपर्ने आलु घरको कोठामा राख्नाले कुहिन थाल्यो ।’ माझखर्क इनामे, डिल्लीबर हुँदै मुर्कुची बजार भएर गाईघाट, सिराहाको लहान र सप्तरीको राजविराज तथा पूर्वी क्षेत्रको इटहरी र विराटनगरसम्म खरीद–विक्री हुने गरेको छ ।

आफूहरुको उत्पादित आलु यस पटक सडक अवरुद्धका कारण एक महीनासम्म विक्री गर्न नपाउँदा आलु भण्डारन गरिएको कोठाहरुमा नै कुहिन थालेको इनामेकै अर्का कृषक हर्कबहादुर तामाङको गुनासो छ । यस्तै लिम्चुङबुको पल्लो माझखर्क सातदोबाटे र बराहमा उत्पादन गरिएको आलु पनि अहिले सडक अवरुद्ध भएपछि अन्यत्र पैठारी गर्न नपाउँदा कुहिन थालेका कारण आलु विक्रीबाट यस पटक आफूहरु ठूलो घाटा व्यहोर्नुपर्ने अवस्था आएको सातदोबाटेका कृषक खम्बराज कार्कीले बताए ।

जिल्ला सदरमुकाम गाईघाट हुँदै मुर्कुची, डिल्लीबजार, माझखर्क तथा गाईघाट, रौता, भुटार इनामे माझखर्क दुवै क्षेत्रका पहाडी सडकहरु पहिरोले कतै भत्किएको र कतै पुरिएपछि सडक अवरुद्ध हुन पुगेको सो क्षेत्रका जनप्रतिनिधिहरु बताउँछन् । कम्तीमा पनि सो पहाडी क्षेत्रको सडक अवरुद्ध खुलाउन महिनौं दिनभन्दा बढी समय लाग्नेसमेत रौतामाई गाउँपालिकाका अध्यक्ष गजेन्द्र खड्का बताउँछन् । अहिले रौतामाई लिम्चुङबुङ, माझखर्क इनामे क्षेत्रको सडक अवरुद्ध खुलाउन पहल शुरु भएको लिम्चुङबुङ गाउँपालिकाकी उपाध्यक्ष रमिला राई बताउँछिन् ।

तत्काल सडक खुलाउन लिम्चुङबुङ गाउँपालिकाले २५ लाख रौतामाई गाउँपालिकाले रू।१५ लाख खर्च गर्ने तयारी गरेको पनि सो गाउँपालिकाका जनप्रतिनिधिहरु बताउँछन् । यस्तै प्रदेश नं १ को सरकारका तर्फबाट सो तीनै क्षेत्रको पहाडी सडक सञ्चालन गर्न रू. ५० लाख सहयोग गर्न लागिएको उदयपुरबाट प्रदेश नं १ का सांसद नारायण बुर्जा मगरले बताए ।

स्थानीय प्राविधिकहरुका अनुसार यस क्षेत्रको सडक अवरुद्ध हटाउन महीनाभन्दा बढी लाग्ने र करीव रू.२ करोड खर्च लाग्न सक्ने सडकका प्राविधिकहरु बताउँछन् ।

समयमा सडक खुल्न नसक्दा अहिले जिल्लाको यी पहाडी क्षेत्रमा खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुहरुको चरम अभावको समस्या देखापरेको छ । यस क्षेत्रमा जिल्लाकै सबैभन्दा बढी आलु उत्पादन हुने आलु पकेट क्षेत्रका रुपमा रहेको छ भने यस क्षेत्रका ६० प्रतिशत कृषक आलु उत्पादनमा निर्भर हुँदै आएका छन् ।