एजेन्सी।आगरा भारतमा धेरै आलु उत्पादन हुने क्षेत्रमध्ये एक हो । तर यहाँका किसान आलुको बजारभाउ घट्दै र आलु उत्पादनको लागत बढ्दै जाँदा निकै समस्यामा परेका छन् ।

आगराको बरौली अहीर गाउँका एक किसानले १९ मेट्रिक टन आलु बेच्दा मात्रै ४ सय ९० भारतीय रुपैयाँ मुनाफा कमाएका छन् । आफ्नो उत्पादनको मूल्य कम पाएकोमा दुःखी हुँदै प्रदीप शर्माले नाफा भएको पैसा ४सय ९० रुपैयाँ प्रधानमन्त्री नरेन्द्र मोदीलाई मनीअर्डर गरेर पठाएका छन् ।

आफूले प्रधानमन्त्री मोदीको अपमान गर्न पैसा नपठाएको बताउँदै शर्मा भन्छन्, ‘प्रधानमन्त्रीले कृषकको दूर्दशाका बारेमा सोच्नुपर्छ । मैले यो ४ सय ९० रुपैयाँ उहाँलाई किन चुनिएको हो भन्ने कुराको सम्झना गराउन मात्रै पठाएको हूँ ।’

शर्माले पहिले पनि प्रधानमन्त्री र राष्ट्रपतिलाई पत्र लेख्दै आफूलाई आत्महत्या गर्ने अनुमति दिन माग गरेका थिए ।

केही दिनअघि मात्रै कृषक शर्माले उत्तर प्रदेशका उप–मुख्यमन्त्री दिनेश शर्मालाई भेटेर कृषकलाई राहत हुनेगरी मूल्य बढाउन आग्रह गरेका थिए । तर उनको आग्रहको कुनै सुनुवाइ भएको छैन ।

किसानले घाटा खाएर आलु बेचिरहँदा बिचौलियाले भने नाफा कमाइरहेको प्रदीप शर्मा बताउँछन् ।