निमको पात अर्थात ‘निमपत्ता’बाट मिल्ने लाभ र यसको प्रयोगबारे त प्राय: हामी जानकार छौँ । निमपत्ताको उपयोग विभिन्न प्रकारका औषधिको रुपमा गरिन्छ । तर, के तपाइँलाई निमको फलबाट हुने फाइदाबारे जानकारी छ ? हामीले पातमात्रै प्रयोग गर्दै आएपनि निमको फल अझै बहुउपयोगी हुन्छ ।
१. आँखा र कानका लागि
निमको फलको प्रयोग आँखा र कानमा प्रयोग हुने मलम बनाउन गरिन्छ । यसमा पाइने एन्टिब्याक्टोरियल गुणका कारण यो संक्रमण पैदा गर्ने ब्याक्टेरियाविरुद्ध लड्न सहायक हुन्छ ।
२. मलेरिया रोकथाम
मलेरियाको प्रभावकारी उपचारमा पनि निमको फल उपयोग गरिन्छ । अनुसन्धानकर्ताहरुका अनुसार पिसिएको निमको दुर्गन्धका कारण लामखुट्टे भगाउनमा सहायक सिद्ध हुन्छ । यसका साथै निमको फलबाट निकालिएको तेलले लामखुट्टेलाई अण्डा उत्पादन गर्न दिँदैन ।
3. परिवार नियोजन
अनुसन्धानबाट के पत्ता लागेको छ भने निमको फलको उपयोग परिवार नियोजनका लागि पनि गरिन्छ । महिलामा गर्भ रोक्नका लागि निमको तेलको उपयोग लुब्रिकेन्टको रुपमा गर्न सकिन्छ । यदि तपाइँहरु बच्चा जन्माउने सोचमा हुनुहुन्छ भने निमको उपयोग नगर्नुहोला । गर्भवती महिलाहरु यसबाट टाढै रहनु नै बेस हुन्छ ।
४. माटोलाई मलिलो बनाउँछ
निमको फलबाट तेल निकालिसकेपछि बचेको अवशेषको प्रयोग माटोलाई मलिलो बनाउनका लागि गर्न सकिन्छ । यसले माटोमा नाइट्रोजनको कमी हुनबाट रोक्दछ । साथै बालीहरुलाई फस्टाउन सहयोग पनि गर्छ ।
५. किरा भगाउन
निमको फलबाट निकालिएको तेल किरा भगाउन एकदमै उपयोगी हुन्छ । घरमा झिंगा, उडुस, उपिँया, घुनजस्ता किराले सताएको छ भने त्यसलाई भगाउनका लागि यो निकै प्रभावकारी उपाय हो ।
६. किटनाशक
अर्गानिक खेती गर्ने कृषकहरुले आफ्नो बालीलाई संक्रमणबाट जोगाउनका लागि निमको फल उपयोग गर्न सक्छन् । धुलो बनाएको निमको फललाई रातभर पानीमा भिजाएर राख्नुस्, अनि बिहान त्यो पानी आफ्नो बालीमा छर्किनुस् । यसले किराहरुलाई अण्डा उत्पादन गर्न रोक्ने मात्र होइन, किराहरुलाई विकर्षित गर्न पनि सहयोग गर्छ । निमबाट बनेको किटनाशक उत्कृष्ट हुन्छ, किनकी यो रसायनमुक्त हुन्छ ।
७. छालासम्बन्धी रोगबाट बचाउन
निमको फलबाट निकालिएको तेलले तपाइँको छालालाई नरम र चमकदार बनाउँछ । यसमा पाइने एन्टिफंगल तथा एन्टिसेप्टिक गुणका कारण यसको उपयोग छालासम्बन्धी विभिन्न समस्या दूर गर्नका लागि गरिन्छ । निमको तेल साबुन, लोशन, फेस वाश आदिमा पनि मिसाइएको हुन्छ ।
८. कपाललाई स्वस्थ र सुन्दर बनाउन
कपाल झर्ने, चायाँ पर्नेजस्ता समस्याबाट चिन्तित हुनुहुन्छ भने निमको तेलको प्रयोगले तपाइँलाई राहत दिन्छ । यसले कपाललाई थप कालो र मजबुद् बनाउन भूमिका खेल्छ ।
९. किड्नी र प्रोस्टेटको उपचारमा सहयोगी
निमको फल र पातबाट बनेको चिया तपाइँको स्वास्थका लागि निकै फाइदाजनक हुन्छ । यसले किड्नी, मूत्राशय तथा प्रोस्टेटसँग सम्बन्धित बिमारीको उपचारमा सहयोग गर्छ । तर यो निकै तितो हुन्छ । पिउन त्यति सहज भने हुँदैन ।
१०. उपिँया भगाउन
यदि तपाइँले पालेको जनावर उपियाँजस्त परजिवी किराहरुबाट संक्रमित छ भने निमको तेल लगाइदिनुस् । यसले यस्ता परजिवी किराहरुलाई भगाउन सघाउँछ । यसले कुनै नोक्सान गर्दैन ।

नोट: आँखा, कानजस्ता संवेदनशील अंगहरु साथै स्वास्थ्य सम्बन्धी कुनै पनि समस्या समाधानका लागि उपयोग गर्दै हुनुहुन्छ भने एक पटक आयुर्वेदिक चिकित्सकसँग परामर्श अवश्य लिनुहोला । होस् गर्नुहोला! औषधि पनि प्रयोग गर्न जानेन भने विष समान हुन्छ ।