चितवन। रासायनिक मल र विषादीको प्रयोग बृद्धि भइरहेको बर्तमान समयमा प्राङगारिक कृषि प्रणाली अवलम्बन गर्नु एक सराहनीय काम हो ।

नेपालमै बसेर करिब २४ बर्षदेखि प्राङगारिक खेती प्रणाली अपनाई एक प्रगतिशील किसान बन्न सफल हुनुभएका एक कृषकको नाम हो – चन्द्रप्रसाद अधिकारी ।
चन्द्रप्रसाद अधिकारी चितवन जिल्लाको फुलबारी गाबिसमा बि.सं. २०१५ मा जन्मनुभएको हो । आफ्नो पुख्र्यौली पेसा कृषि नै भएकाले उहाँले पनि त्यही पेशा अंगाल्नुभयो ।

आफु सानै छदाँ बुबाआमाको निधन भएपछि बि.स.२०३२ सालमा उहाँले खेतीपाती सुरुवात गर्नुभयो । सुरुका बर्षमा रासायनिक खेती प्रणाली अपनाई करिब १६ बर्ष सम्म तरकारी र खाद्यान्न बाली उत्पादन गर्नुभएका अधिकारी, सोही प्रणालीबाट खेती गर्दैजाँदा बि.सं. २०४० सालतिर विविध समस्याहरु जस्तै माटोको समस्या, उत्पादनमा गिरावट र रोगकिराको प्रकोप बढेको कुरा सम्झनुहुन्छ ।

विविध समस्याहरु देखा परेकाले उहाँले रासायनिक प्रणालीलाइ विस्थापन गरि विं. सं. २०४८ सालदेखि पुर्ण प्राङगारिक प्रणालीबाट खेती गर्न थाल्नुभयो । सोही वर्षदेखि पशुपालन पनि सुरु गरी “किसान कल्याण दुग्ध उत्पादक सहकारी संस्था”को संस्थापक अध्यक्ष पनि उहाँ बन्नुभयो ।

प्राङगारिक माध्यमबाट खेती गरेको पहिलो वर्षमा उत्पादन घटेकाले परिवारमा केही विवाद पनि भएको उहाँ सम्झिनुहुन्छ । पहिलो बर्षमा उत्पादन घटेको, दोस्रो वर्षमा उत्पादन केही बढेको तर तेस्रो वर्षदेखि रासायनिक प्रणालीबाटै खेती गरेअनुसार उत्पादन बढ्दै गएकाले परिवारमा रहेको असमझदारी पनि सुल्झिएको उहाँ बताउनुहुन्छ ।

वि.सं. २०५१ सालमा नेपालमै पहिलोपटक पर्माकल्चर (permaculture) र प्राङगारिक कृषिमा काम गर्ने एक गैरसरकारी संस्था “INSAN” बाट permaculture र प्राङगारिक कृषिको ६ दिनको मिनि पिडिसी (mini PDC) कोर्ष लिनुभयो । उक्त संस्थाले पर्माकल्चरको सिद्धान्त, दिगो कृषिको सिद्धान्त र वातावरण मैत्री खेती प्रणालीको अभ्यास सिकाउँदथ्यो ।

बि. सं. २०५२ सालमा फुलबारी गाविसलाई पर्माकल्चर र प्राङगारिक कृषिको एक नमुना गाउँ बनाउने उद्देश्यले, फुलबारीका अगुवा किसान, निर्वाचित प्रतिनिधि, कार्यालय प्रमुखको संयुक्त मेला गराएर उहाँले एक परिचयात्मक गोष्ठीको आयोजना गर्नुभयो । उक्त गोष्ठीबाट ५ जना अगुवा किसान छनौट गरि दुई सालमा नै पर्माकल्चर र प्राङगारिक कृषि सम्बन्धी विशेष तालिम लिन पठाउने निर्णय भएको उहाँ अहिले सम्झिनुहुन्छ । उहाँले गाविसका अन्य किसानलाई पनि प्राङ्गारिक कृषिमा लाग्न अभिप्रेरित गरिरहनुभयो ।

तर धेरैजसो किसानले प्राङ्गारिक कृषि अवलम्वन गर्न सकेनन् । यद्यपी उनीहरुको प्राङ्गारिक कृषि र पर्माकल्चर सम्बन्धी सकारात्मक धारणा भने रहिनै रह्यो ।

वि.स. २०५९ सालसम्म प्राङ्गारिक कृषिबाट सोचेजस्तो उपलब्धी नभएको उहाँ सम्झनुहुन्छ । सोही वर्ष जिल्ला कृषि विकास कार्यालय, चितवनमा गठन भएको दुईवटा कृषक समुहलाई समाहित गरी प्राङ्गारिक कृषि उत्पादक सहकारी संस्था लिमिटेड स्थापना भयो । २०६१ सालमा जिल्ला कृषि विकास कार्यालयको सिफारिसमा सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता गरी उक्त सहकारी संस्थाका संस्थापक अध्यक्ष समेत उहाँ बन्नुभयो । उक्त सहकारी संस्था दर्ता गरेको समयमा ४ जना महिला र २२ जना पुरुष मात्र सदस्य रहेकोमा हाल आएर ८० जना महिला र ५० जना पुरुष गरि जम्मा १३० जना सदस्य रहेको उहाँ बताउनुहुन्छ ।

उक्त सहकारीबाट वि.स. २०६० साल देखि OPM ( प्राङ्गारिक रोगकिरा व्यवस्थापन पाठशाला ) भनेर चितवनको मंगलपुर, फुलबारी इत्यादी गाविसमा संचालन गर्न उहाँले विशेष योगदान दिनुभयो । अहिलेसम्म त्यस्तो पाठशाला २२ वटा सम्म संचालन भएको उहाँको भनाई छ ।

विभिन्न सहकारी तथा गैरसहकारी संस्था एवमं विभिन्न परियोजनाहरु जस्तै इको सेन्टर , विश्व परागसेचन परियोजना, एब्ऋत् इत्यादिसंगको सहकार्य तथा समन्वयमा विभिन्न तालिम तथा भ्रमणको अवसर उहाँले पाउनुभयो । उहाँ विश्वको प्रतिष्ठित विश्वविद्यालयहरु जस्तै हिरोसिमा विश्वविद्यालय र क्यालिफोर्निया विश्वविद्यालयबाट पनि विभिन्न प्राविधिक सहयोग र तालिमको अवसर पाउन सफल हुनुभयो ।

यसबाहेक २०४२ सालमा गाउँमै पहिलोपटक होम स्टे को सरुवात पनि उहाँले गर्नुभयो । वि.स. २०६८ सालदेखि यसले वैधानिक, वैज्ञानिक र आधिकारिक रुप पायो ।

आफ्नो प्राङ्गारिक फार्म अवलोकन गर्न आउने मानिसहरु, कुनै संघसंस्थाबाट प्राङ्गारिक तालिममा आउने सहभागीहरुलाई पनि होम स्टेको सुविधा भएको अधिकारी बताउनुहुन्छ ।

अधिकारीले विगत १२/१३ वर्षदेखि धानखेतमा माछापालन (rice cum fish farming) , पशुपालन, मौरीपालन व्यवसाय पनि संगसंगै गरिरहनुभएको छ । यी बाहेक स्थानीय जातका खाद्यान्न बालीको बिउ संरक्षण कार्यक्रम, करिब २८–२९ वटा लोपान्मुख जडिबुटिको संरक्षण कार्यक्रम, गड्यौला उत्पादन कार्यक्रम पनि उहाँले संचालन गरिरहनु भएको छ ।

आफ्नो पेशा र कामबाट आफु सन्तुष्ट भएको उल्लेख गर्दै अधिकारीले अन्य किसानलाई पनि प्राङ्गारिक कृषि प्रणाली नै अवलंम्बन गर्न आग्रह गर्नुहुन्छ । यद्यपि सरकारी स्तरबाट प्राङ्गारिक कृषि सम्बन्धि ठोस अध्ययन अनुसन्धान नभएकोले माध्यमिक स्कुल तहदेखि उच्च तहसम्म नै प्राङ्गारिक कृषि विषय राख्नु पर्ने उहाँको सुझाव छ ।

प्राङ्गारिक कृषि प्रमाणीकरणको लागि सरकारले विशेष अनुदानका कार्यक्रम, बजार अनुगमन र व्यवस्थापन जस्ता कार्यक्रम संचालन गर्ने हो भने नेपालमा पनि प्राङ्गारिक कृषि क्रान्ति सम्भव रहेको अधिकारीको ठहर छ ।