म्याग्दी। आव २०७२/७३ मा विभिन्न १५ प्रजातिका १० हजार ६६८ किलो जडीबुटी जिल्ला बाहिर निकासी भएको छ ।

जिल्ला वन कार्यालयका अनुसार सतुवा ६१४ किलो, साधारण च्याउ २१२, नागबेली ६००, निरमसी २७७, बिगजरा ४००, कुट्की दुई हजार ९५३, चिराइतो ६००, जटामसी एक हजार, अमलदेव ७००, भिरमह एक हजार १५३, सुगन्धवाल ८०, वनलसुन १० र यार्सागुम्बा डेढ किलो निकासी भएको छ ।

त्यस्तै गैरकाष्ठ वन पैदावरअन्तर्गत दुई हजार किलो अल्लो र ६७ किलो मइन निकासी भएको सहायक जिल्ला वन अधिकृत अजयविक्रम मानन्धरले जानकारी दिए । जडीबुटी निकासीबाट रु एक लाख ८१ हजार राजस्व सङ्कलन भएको छ ।

अघिल्लो आवमा १२ किलो यार्सा निकासी भएको थियो । यसैगरी वन कार्यालयले गत आवमा सामुदायिक वनबाट चिरानी काठ ओसार पसारका लागि पुर्जी जारी गरेबापत रु ४१ हजार र निजी वनबाट गोलिया, चिरानी र दाउरा ओसारपसारको पुर्जीबाट रु एक लाख ३६ हजार राजस्व सङ्कलन गरेको जनाएको छ ।