पर्वत। गत बर्षको तुलनामा यस बर्ष जिल्लामा धान रोपाइ चाडो भएको छ । असारको दोस्रो सातासम्ममा जिल्लाका विभिन्न भेगमा गरी २० प्रतिशत धान रोपाइ भैसकेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।

गत बर्षको तुलनामा यसबर्ष मनसुन चाँडै सक्रिय भएका कारण पनि रोपाइ चाँडो भएको कृषि कार्यालयले जनाएको छ । मनसुन सक्रिय भएसँगै कृषकहरुलाई यतिबेला रोपाइ गर्नको लागि भ्याईनभ्याई भएको छ ।

धान रोप्न योग्य खेतमध्ये २६ प्रतिशत खेतमा मकैखेती लगाइएको छ भने वाँकी खेतमा अहिले धमाधम रोपाई भैरहेको जिल्ला कृषि विकास कार्यालयका बरिष्ठ कृषि विकास अधिकृत बासुुदेव रेग्मीले जानकारी दिए । गत वर्ष भन्दा यस वर्ष छिटो रोपाई भएको हो, मनसुन सक्रिए भैरहेमा जिल्लामा रोपाइ चाँडै सकिने र गतबर्षको तुलनमा ६ प्रतिशभन्दा बढी उत्पादन हुनेमा पनि आफु विश्वस्त रहेको बताए ।

बरिष्ठ कृषि विकास अधिकृत बासुदेव रेग्मीका अनुसार मनसुन सक्रिएभएसँगै जिल्लाका बाजुङ, देउपुर, तिलाहार, चित्रे लुंखु लगाएतका जिल्लाका विभिन्न क्षेत्रमा यतिबेला रोपाइ कार्य चलिरहेको छ । फलेवास, पाङ, बर्राचौर, कुर्घा, कटुवाचौपारी लगायतका मकै लगाइएका खेतमा रोपाई केहि ढिलोगरी शुरु हुने भएपनि अन्य क्षेत्रका कृषहरुले भने धमाधम रोपाई गरिरहेको रेग्मीले बताए ।

जिल्लामा धान फल्ने ९ हजार २१ हेक्टर जमिन रहेको छ । जसको २६ प्रतिशमा मकै रहेको र अन्य क्षेत्रमा रोपाइ कार्यभैरहेको रेग्मीले जानकारी दिए । बाहैमास सिंचाई हुने खेतमा रोपाईका लागि समस्या नभएपनि अन्य ठाउँका कृषक भने वर्षा प्रभावकारी भएपछि मात्र रोप्न शुरु गर्दछन् ।

सवैभन्दा बढी धान उत्पादन हुने देविस्थानमा २ सय ४३ हेक्टर क्षेत्रफल र कम उत्पादन हुने बनौँमा ४ हेक्टर क्षेत्रफल रहेको छ । अहिले पर्वतमा छेमरोङ, खुमलटार, गौरीया, गुडुरा, मार्सी, पहेले, जर्नेली लगायत जातका धानको रोपाइ हुने कृषि कार्यालयले जनाएको छ जसमध्ये जिल्लामा ६० प्रतिशत स्थानीय जातको र ४० प्रतिशत उन्नतजातको खेती हुदै आएको छ ।

गत वर्ष पनि मनसुन ढिला भएका कारण साउनको अत्यमा मात्र रोपाई सकिएको थियो । तर यसबर्ष मनसुन सक्रिय भैरहेमा जिल्लामा चाँडै रोपाइ सकिनेछ । जिल्लामा रोपाइ कार्य शुरु भएपनि अझै मुल फुट्नेगरी वर्षा नभएपनि खोलानालाका आसपास र सिंचाईको सुविधा पुगेका ठाउँमा रोपाई भैरहेको जिल्ला कृषि विकास कार्यालय पर्वतले जनाएको छ ।